प्रतीक पौडेल
मर्चवार, चैत १० । रुपन्देही जिल्ला सम्मरीमाइ गाउँपालिका वडा नं १ मुडिलाका कृषक ५८ वर्षीय राम अचल लोधले तरकारी खेती गर्नुहुन्छ । अचलले तरकारी खेती गरेरै जीवन परिवर्तन गर्ने सपना देखेर हिँडेको १५ वर्ष पुगेको छ । अचलले पहिला परम्परागत रूपमा तरकारी खेती गर्दै आए पनि पछिल्लो समय व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
करिब सात कट्ठा क्षेत्रफलमा अचलले बन्दा गोभी, फूल गोभी, केराउ, प्याज, टमाटर र मुलालगायतका तरकारी उत्पादन गर्नुहुन्छ । वार्षिक करिब ५० हजारको लगानी गरेर तरकारी खेती गर्दै आउनुभएको अचलले फाइदा कमाउने त टाढाको कुरा लगानी उठ्न पनि हाम्मे हाम्मे हुने गरेको छ । अचल तरकारी खेतीमा फाइदा नहुनुको प्रमुख कारण बजार नपाउनु भएको बताउनुहुन्छ ।
अचल भन्नुहुन्छ, ‘‘हाम्रो मूल पेसा भनेकै खेती किसानी हो, खेती नगरी परिवार चलाउन सकिँदैन त्यसैले घाटा खाएर भए पनि तरकारी खेती गर्दै आएका छौँ ।’’
बर्सेनि यस्तै नोक्सानी बेहोरेर भए पनि अचल तरकारीले बजार पाउने आसमा खेती गर्नुहुन्छ, तर तरकारीले बजार पाउँदैन बजार पाए पनि उचित मूल्य पाउँदैन र खेतमै तरकारी फाल्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन्छ ।
अचलले भन्नुभयो, ‘‘दुःखैदुःखका बिच पनि किसानले उत्पादन त गर्छन् तर बजारले किसानको व्यथा बुझ्दैन् । बिचौलिया हाबी हुँदा किसानहरूको उत्पादनले न त बजार नै पाउँछ न त मूल्य नै ।’’
अचल जस्तै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ सुरहवा निवासी ४३ वर्षीय चैती मौर्यले तरकारी खेती गर्दै आउनुभएको छ । चैतीले तरकारी उत्पादन हुने मौसममा खेतमै रात काट्ने गर्नुहुन्छ । १० वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको चैतीले करिब २ बिगा क्षेत्रफलमा उत्पादन गर्नुर्भको तरकारीको हेरचाह गर्न खेतमै विस्तारा लगाएर रात कट्ने गर्नुभएको हो ।
उहाँले मौसम अनुसारका बाली लगाउँदै आउनुभएको छ । परिवारमा एक श्रीमती र तीन छोरा रहनुभएको चैतीले करिब ५० हजार लगानी गरेर तरकारी खेती गर्नुभएको हो । उहाँको खेतमा फूल गोभी, बर्काउली, सिमी, टमाटर, घिरौँला, भ्यान्टा र मुलालगायत तरकारी उत्पादन हुन्छ ।
चैतीले भन्नुभयो, ‘‘तरकारीका लागि राम्रो बजारको व्यवस्था भए आफूहरुको लगानीले प्रतिफल प्राप्त गर्ने थियो । बिचौलिया हाबी हुँदा कौडीको भाउमा तरकारी खेतबाट बेच्नुपर्ने अवस्था छ ।’’ तरकारीको लागत मूल्य नै पाउँदैनौँ, उचित मूल्यको माग गरे बिचौलियाले तरकारी नै उठाउँदैन र खेतमै कुहिएर जाने अवस्था सिर्जना हुन्छ चैतीको भनाइ छ ।
अचल र चैती जस्ता कृषिमै निर्भर रहेको परिवार मर्चवारमा करिब ९० प्रतिशत छ । यस क्षेत्रका किसानहरूले सम्मरीमाइ गाउँपालिका वडा नं ६ मन्झरियामा रहेको समयमा कृषि उपज बजारमा एकाबिहानै पुर्याउने गर्नुहुन्छ । रुपन्देहीको मर्चवार कृषिका लागि उर्वर भूमि मानिन्छ । यहाँ किसानहरुले समस्या र चुनौतीहरूको चाङका बिच अन्नबालीदेखि नगदे बालीसम्मको खेती गर्दै आएका छन् ।
मर्चवारमा रहेका स्थानीय सरकारले किसानका समस्या नबुझेका भने होइनन् । तर केही गर्न सकिरहेका छैनन् स्थानीय सरकार र जनप्रतिनिधि । जनप्रतिनिधि कृषि क्षेत्रमा भएका समस्याहरू स्वीकार्छन् । कृषिमा केही गर्न नसकिरहेको अवस्था बारे जनप्रतिनिधि जानकार हुनुहुन्छ । मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले गाउँपालिकाका किसानहरूले तरकारीको उत्पादन धेरै गरे पनि बजार मूल्य नपाएका कारण समस्या भोगिरहेका बताउनुभयो । अध्यक्ष बरईले किसानहरूको उत्पादन बढाउनका लागि गाउँपालिकाले ट्युबवेल मार्फत सिँचाइ सुविधा प्रदान गरिरहेको बताउनुहुन्छ ।
यस्तै, सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले गाउँपालिकामा प्रमुख समस्याको रूपमा सिँचाइ रहेको बताउनुभयो । श्रीवास्तवले मर्चवारमा लिफ्ट सिँचाइ भए पनि नहरमा पानी नआउँदा किसानहरूले समस्या पानीको अभाव हुँदा समस्या झेल्दै आएको जानकारी दिनुभयो ।
रुपन्देहीको मर्चावर कृषिमा प्रचुर सम्भावना भएर पनि राजनीतिक खिचातानीका कारण कृषि पकेट क्षेत्रको रूपमा विकास हुन सकेको छैन । मर्चवारमा कृषि उत्पादन सङ्कलन केन्द्र, चिस्यान केन्द्र निर्माणमा ध्यान दिनु जरुरी देखिन्छ ।