लक्ष्मी चौधरी
जनकपुरधाम, चैत १० गते । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनबाट निर्विरोध निर्वाचित केन्द्रीय अध्यक्ष लालबाबु यादवले आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
शनिबार साँझ जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मञ्चका नवनिर्वाचित अध्यक्ष यादवले आफ्नो ११ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष यादवले सार्वजनिक गर्नुभएको जनकपुरधाम घोषणपत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत निजामती कर्मचारीका निमित्त सरुवा, बढ्वा, निजामति सेवा ऐन बमोजिम गर्न गराउन मञ्चले दबाबमूलक कार्य गर्ने भनिएको छ । यस्तै, निजामती कर्मचारीमाथि भइरहेको विभेद अन्त्य गर्दै स्वच्छ, निष्पक्ष तवरले जनताको सेवा प्रवाहमा सहज, सरल भयरहित वातावरण सृजना गर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तै, सङ्घीय हस्तक्षेप अन्त्य गरी नेपालको संविधानको अनुसूचि बमोजिम कार्य गर्न मञ्चले सक्रिय भूमिका खेल्नेछ भने प्रदेश र स्थानीय सरकारका कर्मचारीहरुको सम्बन्ध सुमधुर बनाउन सक्रियता देखाउने तथा स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतका रुपमा खटिने कर्मचारी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मात्र खटिने व्यवस्थाको जोडदार माग गर्नेलगायतका विषय उक्त ११ बुँदे घोषणापत्रमा उल्लेख गरिएका छन् ।
यही चैत ७ देखि ९ गते (तीनदिन) सम्म जनकपुरधाममा आयोजित मञ्चको चौथो अधिवेशनबाट केन्द्रीय अध्यक्ष यादवसहित ३९ जनाको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएपछि सो घोषणापत्र सार्वजनिक भएको अध्यक्ष यादवले बताउनुभयो ।
यस्तै, केन्द्रीय समितिमा १० उपाध्यक्ष, एक महासचिव, नौ सचिव र एक कोषाध्यक्ष र १७ सदस्य छन् । जसमा निर्वाचित हुने उपाध्यक्षहरुमा ताहिर हुसैन, जवाहर लाल प्रसाद कुर्मी, रामआधार यादव, राकेश रंजन दास, सुजिताकुमारी राउत, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, कामेश्वर राउत र सत्यनारायण यादव छन् भने महासचिवमा अनिलकुमार साह, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, बैजनाथ सिंह, मनिर अन्सारी, शिवनारायण मण्डल, जितेन्द्र यादव,राधेश्याम चौधरी र सन्ध्या दास छन् । यसैगरी कोषध्यक्षमा पुष्पाकुमारी मिश्र रहनुभएको छ ।
यस्तै, सदस्यहरुमा दीपककुमार ठाकुर, सन्दीप पटेल, अम्जद अलि अन्सारी, अजयकुमार झा, शशि यादव, राम सुलित महतो, हीराबन यादव, बैद्यनाथ मण्डल, रविन्द्र राय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सानी दास छन् ।
सम्पन्न मञ्चको चौथो अधिवेशनमा देशभरका ३३ जिल्लाका मधेशी निजामती कर्मचारी सहभागी भएका थिए ।
विसं. २०६३ सालमा मधेशी निजामती कर्मचारी सङ्घको स्थापना भएको थियो । २०६५ सालमा प्रथम महाअधिवेशन लहानमा गरेको थियो भने दोस्रो महाअधिवेशन २०६८ सालमा विरगं, तेस्रो महाधिवेशन मकवानकुरको हेटौँडामा सम्पन्न भएको थियो ।