• ११ चैत २०८१, सोमबार

निर्दोष दुई बालिका आमासँगै जेलमा

blog

दमौलीस्थित तनहुँ कारागार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १० गते ।
तनहुँका निर्दोष दुई बालिका कारागारमा बस्न बाध्य छन् । उनीहरु तनहुँ कारागारमा आमासँग जेलमा बस्न बाध्य भएका हुन् ।  जिल्ला कारागार तनहुँको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा  छन् । पाँच वर्षीय र तीन वर्षीय बालिका करीब एक वर्ष अघिदेखि नै आमासँग कारागारमा बस्नुपरेको हो ।

छोरीको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि व्यास नगरपालिका–२ की तीन वर्षकी बालिका र आँबुखैरेनी गाउँपालिकाकी पाँच वर्षकी बलिकालाई आमाले आफूसँगै कारागारमा राख्दै आउनुभएका तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीको अनुसार आँबुखैरनीकी लागु औषध गाँजा र व्यासकी चोरी मुद्दामा  कसुरमा कारागार चलान भएपछि आमासँगै छोरीहरु कारागारमा बस्दै आएका छन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको हो ।

बालिकाको पढाइमा असर नपरोस् भन्नका लागि तीन वर्षीया बालिकालाई दमौली बजारस्थित सेतोगुराँस मन्टेश्वरी स्कुल र पाँच वर्षीया बालिकालाई दमौलीकै सत्यवती माध्यामिक विद्यालयमा पिपिटुमा भर्ना गरिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, ‘‘बालिकाहरुको पढाइमा असर नपरोस् भनेर कारागारका कर्मचारीहरु खटाएर विद्यालय जाने र आउने व्यवस्था मिलाएका छौं ।’’ कारागारले अनुरोध गरेपछि विद्यालय निःशुल्क अध्ययनको व्यवस्था मिलाएको कारागारले जनाएको छ ।