• ११ चैत २०८१, सोमबार

कृषि कर्ममा रमाउँदै पदम खत्री

blog

आफ्नो फर्ममा उत्पादित काउली देखाउदै कृषि उद्यमि पदम खत्री ।

नवराज नेपाली 

गलकोट (बागलुङ), चैत १० गते । बागलुङ नगरपालिका –९ तित्याङ थापाथरका पदम खत्री कृषि कर्ममा निकै व्यस्त हुनुहुन्छ । खत्रीको  दैनिकी बिहान सबेरै उठेर साँझ अबेरसम्म कृषि कर्ममा नै बित्ने गर्छ । समयअनुसार कहिले फलेका तरकारी बिक्रि गर्ने, कहिले तरकारी खेतीमा पलाएका झार गोड्ने त कहिले बजारसम्म पुग्ने गर्नुहुन्छ । उहाँको यही कर्मले नै गाउँमा पौरख पदमको नामले परिचित छन् ।

खत्री यही कर्मबाट पुरस्कृत पनि हुँदै आउनुभएको छ । उहाँले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष आफ्नै ‘खत्री एग्रो फार्म’ मा १२ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत हुनुभएको थियो ।

उहाँ भन्नुहुन्छ –‘पुरस्कारले मलाई कामप्रति उत्प्रेरित गरेको छ, कृषिमा निरन्तरताकोलागि उर्जा भरेको छ ।’ विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानका रुपमा परिचित हुनुहुन्छ । सफल कृषकको परिचय पाउनुमा मेहनतको फल ठान्नुहुन्छ  खत्री ।

‘सबैभन्दा ठुलो कुरा मेहनत नै हो भन्ने लाग्छ, कृषि क्षेत्रमा मेहनत नगर्नेहरुले खासै प्रगति गर्न सक्दैनन्’ उहाँ  भन्नुहुन्छ –‘आजसम्म जति गरिएको छ, जति भएको छ त्यो मेहनतबाट नै हो ।’

खत्रीले सबैगरी २६ रोपनी रोपनी जग्गामा कृषि गर्दै आउनुभएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदैगर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोँच नआएको बताउँदै गाउँमै उद्यमी बनेको बताउनुभयो। ६ रोपनी भाडामा, २० रोपनी आफ्नै जग्गामा भाडासहित सबैगरी २६ रोपनी जग्गमा कृषि गर्दै आउनुभएको छ ।

स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोँचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख रुपियाँसम्म आम्दानी गर्दैआएको बताउनुहुन्छ । अहिले काउली र ब्रोकाउली मात्र १० क्विन्टल बिक्री गरेको र ‘कालीको मात्र तीन महिनामा करिब ६ लाख कमाएँ, टमाटरबाट पनि ५–७ लाख रुपियाँ आउँदछ, काउली लगायतबाट एक डेढलाख रुपियाँ हुन्छ ।’ उहाँले भन्नुभयो, ‘सबैगर्दा करिब १५–२० लाख रुपियाँ आम्दानी हुन्छ ।’

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा ६ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै खत्रीले व्यावसायिक तरकारीखेति गर्दैआएको बताउनुभयो । खत्रीले आफ्नो जग्गामा सुन्तला पनि लगाउनुभएको छ ।