• ११ चैत २०८१, सोमबार

दक्षिण एसियामा मोदीको प्रभाव

blog

नरेन्द्र मोदी पहिलो पटक भारतको प्रधानमन्त्री हुँदा ‘सेन्टर फार द स्ट्रइज आफ डेबलपमेन्ट सोसाइटी’ का निर्देशक तथा भारतका राजनीतिक विश्लेषक सन्जय कुमारले भन्नुभएको थियो,  “इन्दिरा गान्धीपछि पहिलो पटक नरेन्द्र मोदी अर्थात् जनताले व्यक्तिको नाममा भोट दिएका हुन् ।” पहिले इन्दिराका नामबाट भोट हुन्थ्यो भने अहिले नरेन्द्र मोदीका नामबाट भोट भएको छ । नरेन्द्र मोदी एसियाको प्रभावशाली र शक्तिशाली प्रधानमन्त्री बन्नुभयो । मोदी निम्न परिवारबाट जन्मिएर दक्षिण एसियाको शक्तिशाली राष्ट्रको प्रधानमन्त्री मात्र होइन, बरु थोरै समयमा अन्तर्राष्ट्रियस्तरमा पनि कूटनीतिक पहलका कारण स्थापित नेताका रूपमा परिचित हुन पुग्नुभयो । प्रशासनिक, कूटनीतिक र इमानदारको क्षेत्रमा सक्षम साबित हुनुभएको छ मोदी । 

अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठा पत्रिका टाइम्सको सर्वेक्षणमा ५० लाख मतदातामध्ये १६ लाखले मोदीको पक्षमा मतदान गरेको बताइएको छ । त्यसैबेला स्टेट टाइम्सले मोदीलाई एसिया वर्षको महान पुरुषका रूपमा गरेको व्याख्याले मोदीको उचाइ बनेको हो । उहाँ चुनावी घोषणापत्रमा भन्नुभए झैँ छिमेकी देशसित आफ्नो सम्बन्ध बलियो र सुदृढ बनाउने काममा लागिरहनुभएको छ । आफूले चुनाव जितेपछि सपथ ग्रहणमा छिमेकी देशका राष्ट्र प्रमुखलाई निमन्त्रणा गरेर आफ्नो कूटनीतिक पहल सुरु गरेको देखिन्छ । यो मात्र होइन गुजरातमा हिन्दु मुस्लिम दङ्गामा नरेन्द्र मोदीलाई दोषी ठहर गरेको थियो अमेरिकाले । त्यही कारण अमेरिका भ्रमण गर्न प्रतिबन्धसमेत लगायो । 

मोदीले अमेरिकालाई भारतीय जनताको बलमा झुक्न बाध्य बनाएर आफूलाई निमन्त्रणा गर्न अमेरिकालाई बाध्य बनाउनुभयो । उहाँको कुशल कूटनीतिले महत्वपूर्ण काम ग¥यो । अमेरिकी यात्राको समय मोदीले भारतले टिएफएको विरोध नगर्ने बताएर अमेरिकामा समय सीमाको आग्रहलाई रिझाएर विकास निर्माणमा योगदान गर्न आफ्नो देशमा लगानी लगाउन वातावरण बनाउनुभयो । दिल्लीको मेट्रो रेल त्यसैको उदाहरण हो । भौतिक पूर्वाधारमा जापानको थुप्रै लगानी भारतमा छ । आफू मुख्यमन्त्री हुँदा पटक पटक चीनको भ्रमण गर्नुभएको थियो मोदीले । आफू प्रधानमन्त्री भएपछि पुरानो दुस्मनीलाई मित्रतामा बदल्न उहाँ लागिपर्नुभयो । चीनको राष्ट्रपतिको भारत भ्रमणको बेला अनुदानस्वरूप एक अर्ब डलर दिनु र भारतमा लगानी भित्र्याउने वातावरण बनाउन र चीनसँग भएको व्यापार घाटा कम गर्न पहल गर्नु कूटनीतिको अब्बल नमुना हो । 

प्रधानमन्त्री बनेपछि दक्षिण एसियाका मुलुक मुख्यतः सार्क देशबिच उहाँले सुमधुर सम्बन्ध बनाउन प्रयत्न गरेको देखिन्छ । पाकिस्तानसितको खिचातानीलाई कम गर्ने प्रयत्न पनि गर्नुभएको छ । भुटान र माल्दिभ्ससँगको सम्बन्ध सुमधुर बनाउन उहाँको ठुलो भूमिका छ । विगत १७ वर्षदेखि भारतको कुनै पनि सरकारप्रमुख नेपाल आएको थिएन । मोदीले नेपाल भ्रमणका क्रममा संविधान सभामा सम्बोधन गरी राजनीतिक दललाई सचेत बनाउने काम पनि गर्नुभयो । राजनीतिक विश्लेषकहरूको भनाइ पनि अब नेपाल–भारतको सम्बन्ध बनेर तपसिलमा रहेको सिमा विवाद समाधानका आशा गरेका थिए । मोदीले सार्क सम्मेलनको बेलामा लुम्बिनी भ्रमण गर्ने इच्छा जाहेर गर्नुभयो, त्यसै अनुसार जनकपुर, लुम्बिनी मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम पनि बनेको थियो तर पछिल्लो समयमा रद्द भयो । त्यहाँबाट चिसो पस्न सुरु भयो । 

नरेन्द्र मोदीको यी स्थलको भ्रमणले देशलाई नोक्सान होइन पर्यटकीय दृष्टिकोणले फाइदा नै हुने थियो । जनकपुर परम्परागत रूपले अयोध्यासँग जोडिएको छ । लुम्बिनी गौतम बुद्धको जन्मथलो भएकाले पर्यटकलाई र भारतबाट गौतम बुद्धको जन्मस्थल भारत हो भन्नेलाई चिर्न पनि मोदीको लुम्बिनी भ्रमणले स्पष्ट पार्ने थियो । विदेशी पर्यटक भ्रमबाट मुक्त हुने थिए । कुनै पनि राष्ट्र प्रमुखले तीर्थ स्थल दर्शन गर्न पाउने उसको अधिकार हो । नेपालीले भारतका सबै तीर्थस्थल धाउन हुने तर मोदी मुक्तिनाथ जान नहुने थिएन त ? कूटनीतिमा अब्बल नभएको सन्देश प्रवाह भएको थियो त्यतिबेला पनि । त्यसबाट सबक सिक्नु पर्छ । 

नेपाल सरकार तथा राजनीतिक दललाई मोदीले संविधान सहमतिबाट बनाउनु होस् भनेपछि मुलुक सहमतिको दिशामा अघि बढेको अनुभूति भएको राजनीतिक विश्लेषक बताउँछन् । मोदी आफ्नो देशको मात्र होइन दक्षिण एसियामा पनि प्रभावशाली नेतृत्वका रूपमा अगाडि बढेकाले सबैले मोदीबाट सिक्नुपर्ने हुन्छ । नेपालका राजनीतिक दलको कूटनीति सम्बन्ध भारतसित हिजोभन्दा भिन्न छ । नेपालले यही समयमा भारतसित आफ्नो कूटनीतिक सम्बन्धलाई विस्तार गर्ने, कतिपय सीमा विवादलाई आपसी सहमतिबाट हल गर्ने, यसलाई सुदृढ गर्ने, आर्थिक लगानीका लागि वातावरण बनाउने, कर ट्याक्समा हुने विवाद समाधान गर्ने र सूचना प्रविधिमा सर्वसुलभ बनाउन आवश्यक छ । 

टकरावबाट होइन आपसी समझदारी र सहमतिबाट सबै विषयको समाधान खोज्नु पर्छ । नेपालमा सरकार बनेको आठ महिना भयो । परराष्ट्रमन्त्री दुई पटक भारत गए पनि प्रधानमन्त्रीलाई निमन्त्रणा नहुनु कूटनीतिक कमजोरी त होइन ? सरकारले छिमेकी देशसितको सम्बन्धलाई विशेष बनाउन पहल गर्नु पर्छ । धेरै नेपाली भारतका प्राइभेट कम्पनीमा पनि कार्यरत छन् । कतिपयले काम छोडी पनि सकेका छन् उनीहरूको हिसाब किताब बैङ्कको माध्यमबाट हुन्छ । उनीहरूले आधार कार्ड बनाउन पाउँदैन । ‘आधारकार्ड’ बिना बैङ्कमा खाता खोलिँदैन । बैङ्कमा खाता खोल्न नपाउँदा अर्बौं रुपियाँ नेपालीको अलपत्र छ । भारत र नेपालबिचको १९५० को मैत्रीपूर्ण सन्धिबाट नेपाली भारत गएर नोकरी गरेका हुन् । सरकारले कूटनीतिक पहल गरेर नेपाली मजदुरको पैसा लिने वातावरण निर्माण गर्नु पर्छ । भारतसित आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध मात्र नभएर राजनीतिसित पनि जोडिएको छ, त्यसैले सम्बन्धलाई सुदृढ गर्नु पर्छ । 

एउटा कुरा हामीले सिक्नै पर्छ । मोदीले गुजरातलाई जसरी विकास गर्नुभयो, त्यही स्थितिमा भारतको विकासको गति पनि अगाडि बढेको देखिन्छ । कतिपय नेता विपक्षमा भए पनि मोदीको प्रशासन नै अब्बल देखिन्छ । उत्तराखण्ड, हिमाञ्चल प्रदेश, मध्यप्रदेश हरियाणा र दिल्लीमा भाजपाको सरकार छ । राजनीतिक विश्लेषक सन्जयकुमार भन्नुहुन्छ, “एक व्यक्तिका लागि लिएर जसरी महल बनेको छ, आउने दिनमा राजनीतिक दलले आफ्नो अस्तित्वका लागि पनि गठबन्धनतिर बढ्ने सम्भावना छ ।” विपक्षीले गठबन्धन बनाए पनि मोदीको सत्ता सुरक्षित नै बनिरहेका छन् । मोदीका केही पनि कमजोरी छैनन्, देखिँदैनन् । जब उहाँ पहिलो पटक प्रधानमन्त्री बन्दा शक्तिशाली प्रधानमन्त्रीका कमजोर मन्त्री रहे । उहाँले बनाएका मन्त्रीमध्ये वेदास दत्तात्रेय श्रममन्त्री, प्रो. रामशङ्कर कडोरिया एचआरडी राज्यमैत्री, स्मृति इरानी मानव संशोधन विकास मन्त्री, प्रकाश जावेकदर पर्यटनमन्त्री, जितेन्द्र देव सिंह पिएओ राज्यमन्त्री यस्तै ११ मन्त्री र तीन संसद् मोदीका लागि कमजोर साबित भए । 

प्रशासनिक र कूटनीतिक क्षेत्रमा उहाँ सफल हुनुभयो । भारतलाई हाम्रो विषयमा राम्रो थाहा छ । भारतलाई हाम्रोबारे राष्ट्रिय नीति के हो भनेर स्पष्ट पार्ने हो भने त्यसमा मोदी असहमत हुने कुरै छैन । मोदीको सत्ता आएपछि जुन जुन विषयमा सम्झौता भए त्यो राम्रो कुरा थियो । त्यही महाकाली, पञ्चेश्वर हुँदा गिरिजाबाबुले हस्ताक्षर गरेको कति वर्षपछि मात्र कार्यान्वयनमा जाँदै छ । मुख्यतः भारतसँगको सम्बन्ध प्रगाढ बनाउने हो भने त्यसको फाइदा हामीलाई नै हुन्छ । मोदीका केही खुबी छन् । जब उहाँ मुख्यमन्त्री हुनुभयो । गुजराजमा भएको हिन्दु मुस्लिम दङ्गाको बेला हाम्रो पियुडिआर (पिपुल्स युनियन फार डेमोकेट्रिक राइट) को मानव अधिकारवादीको टोली उहाँलाई भेट्न जाँदा मोदीको सुरक्षाकर्मी थिएनन् । अरू नेताको भन्दा फरक थियो । हाम्रो कुरा राम्रोसँग सुन्नुभयो । उहाँले सिधै बोलाएर भेट्नुभयो । दोस्रो, उहाँको बोलाइमा कुनै बनावटी छैन, सिधा सिधा कुरा गर्नुहुन्छ, घुमाउरो कुनै कुरा गर्नु हुँदैन । 

तेस्रो, उहाँले गुजराती धेरै गरिब छन् भन्नुभयो, सुरुमा मलाई जोक गरे जस्तो लाग्यो । उहाँले मरो परिचयपछि भन्नुभयो, “हाम्रोमा नदी छैन, बिजुली छैन, कोइला र माइन छैन । यिनी सबै कुरा तिमीहरूका छन्, तैपनि तिमीहरूले विकास गर्न सक्दैनौँ ।” गुजरातको गाउँ गाउँमा जाँदा लोडसेडिङ कतै पनि छैन । जुन गाउँमा लोडसेडिङ हुन्छ, उहाँले त्यही दिन काम गर्ने अफिसरलाई किन लोडसेडिङ भयो भनेर स्पष्टीकरण लिने, आवश्यक परे निकालिदिने गर्नु हुँदोरहेछ । उहाँको उत्कृष्ट व्यवस्थापनकै कारण गुजराजमा निकै विकास भएको छ । हामी पनि कमजोर छैनौँ । हामीसँग प्राकृतिक सम्पदा छन् । धार्मिक तीर्थस्थल छन् । सगरमाथा, बुद्ध जन्मेको देश छ । नदीनालाको पानी त्यसै खेर गएको छ । नजिकका दुई ठुला मुलुक चीन र भारतसँग राम्रो सम्बन्ध बनाएर अघि बढ्न सके हामीलाई आर्थिक उन्नति गर्न कुनै कठिनाइ छैन, अभाव छ त मात्र इच्छाशक्तिको । राजनीतिक नेतृत्वलाई इच्छाशक्ति देखाएर मुलुक बनाउन कसैले किन रोकेको छ ?