• ११ चैत २०८१, सोमबार

गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

blog

गुल्मी उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गरिँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा, चैत १० गते ।
गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन स्थगित भएको छ । साधारणसभापछि चैत ९ गते वाणिज्य संघको आगामी नेतृत्वको मनोनयन दर्तासहितको निर्वाचन कार्यतालिका रहेको थियो । तर निर्वाचन अधिकृतको कार्यालले निर्वाचन स्थगित भएको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

निर्वाचन अधिकृत अधिवक्ता विष्णु बलालद्वारा सूचनामा अर्को सूचना नभएसम्मका लागि स्थगित मात्र भनिए पनि कारण खुलाइएको छैन । आफुहरुले पनि सूचना देखेर मात्रै थाहा पाएको गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो । वाणिज्य संघमा व्यावसायीहरु दुई खेमामा विभाजन भएपछि तयारी नपुगेर निर्वाचन स्थगित गरिएको एक सदस्यले बताउनुभयो ।

वाणिज्य संघको अध्यक्ष पदका लागि दुई जनाविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । लामो समय वाणिज्य संघमा आवद्ध रहनुभएका वरिष्ठ उपाध्यक्ष पन्थी र उपाध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठबिच कडा प्रतिस्पर्धा हुने देखिएको हो । पन्थीले संघको वरिष्ठ उपाध्यक्ष र धेरै पटकको कार्यकालमा अरुलाई अवसर दिएकाले आफु स्वभाविक उम्मेद्वार भएको दावी गर्नुभयो ।

व्यावसायी सङ्गठिन गर्दै बजार चलायमान बनाउन आफुले नेतृत्व गर्न चाहेको पन्थीले बताउनुभयो । अहिले उपाध्यक्ष रहनुभएका श्रेष्ठले २०५४ सालबाट कार्यसमितिमा रहेर काम गरेको र चार जना अध्यक्षलाई विविध बाध्यताले छोडेको स्मरण गर्दै अहिले कुनै हालतमा नेतृत्व नछोड्ने बताउनुभयो । ०३७ सालबाट व्यापार र ४२ सालबाट पाका व्यावसायीहरुसँगै रहेर वाणिज्यसंघका लागि थुप्रै योगदान गरेकाले उमेर र सबै हिसाबले स्वभाविक नेतृत्व नपाए चुनावी प्रतिस्पर्धाका लागि पनि आफु तयार रहेको श्रेष्ठले बताउनुभयो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलका अनुसार पाँच सय ९१ मतदाता रहेका छन् । आफुहरु सर्वसम्मत नेतृत्वको पक्षमा रहेकाले छलफल र संवाद जारी रहेको पौडेलले बताउनुभयो । 

पौडेलले आफ्नो कार्यकालमा लगानी सम्मेलन, महोत्सव, कर शिक्षा कार्यक्रम, व्यावसायीहरुबिच अन्तरक्रिया, सेयरसम्बन्धी तालिमहरु, सेमिनारहरुमा सहभागी, उत्कृष्ट उद्यमी र संघका ज्येष्ठ सदस्यलाई सम्मानको सुरुवात गरेको बताउनुभयो । साथै संस्थापक अध्यक्ष नन्दराम भुसालदेखि नरप्रसाद श्रेष्ठ, डिल्लीराज भुसाल, राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अखिलेश्वरप्रसाद पाण्डेय, दुर्गाप्रसाद पाण्डेय र श्रीप्रसाद भलामी गरेर नौ जनालाई सम्मान गरिएको पौडेलले जानकारी दिनुभयो ।