आज सम्पूर्ण विश्व नै पानीको सङ्कटसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार जीवनको यो सबैभन्दा अपरिहार्य आवश्यकतालाई पूरा गर्न चाँडै नै उपयुक्त किसिमले भगीरथ प्रयत्न गरिएन भने आउँदो समयमा स्थिति अझ विषम र विकराल हुने छ । मानिसले थोपा थोपा पानीका लागि पनि तड्पिने र पछुताउनुपर्ने स्थिति बन्ने छ । यसको प्रमुख कारण सीमित पानी र दिनानुदिन बढ्दो जनसङ्ख्या हो, जसले पानीको सङ्कट बढाउनमा अहम् भूमिका निभाइरहेको छ ।
पृथ्वीको सतहमा ७० प्रतिशत पानी छ, जसको ९७.५ पानी नुनिलो छ । अढाई प्रतिशत बाँकी रहेको शुद्ध पानी पनि ६८.७ प्रतिशत बरफको रूपमा, ३० प्रतिशत भूमिगत जल र केवल ०.३ प्रतिशत मात्र पृथ्वीको सतहमा रहेको छ । सतहको पानी पनि ८७ प्रतिशत तालमा त दुई प्रतिशत जति मात्र नदीहरूमा रहेको रिूज्ञहरूको अनुसन्धानबाट प्रस्ट हुन्छ । अझ सोचनीय समस्या त के कुराको छ भने यी सबै कुरा जान्दाजान्दै पनि हामीले यस अमूल्य जीवनदायिनी प्राकृतिक सम्पदालाई उचित कदर गर्न सकिरहेका या सिकिरहेका छैनौँ ।
निकै पहिला जतिबेला संयुक्त राष्ट्रका महासचिव बान की मुनले भनेका थिए, “मौजुदा समयमा विश्वका विभिन्न भागमा पानीको ठुलो समस्या छ । अहिले भइरहेको पानीको बढ्दो दुरुपयोग या बर्बादीलाई रोकिएन भने स्थिति भयावह हुने छ । आउँदो २०५० सम्ममा विश्वको जनसङ्ख्या आजको सात अर्बबाट बढेर नौ अर्ब पुग्ने विज्ञहरूको अनुमान छ । पानी, भोजन आदिको माग र जलवायु परिवर्तनको समस्या दिनानुदिन तीव्र गतिले बढ्दै नै जाने छ । यसरी माग बढ्दा आउँदा केही वर्षमै विश्वका कतिपय भागमा पानीको सङ्कट अझ गहिरो हुनेछ । त्यतिबेला विभिन्न
देशले आफ्नो आर्थिक र राजनीतिक लाभका लागि पानीको उपयोग गर्न हिच्किचाउने छैनन् । यस कारणले गर्दा राजनीतिक तथा सामाजिक अस्थिरता र क्षेत्रीय तनाव बढ्न जाने खतरा पनि त्यत्तिकै छ । विशेषज्ञहरूका अनुसार चेतावनी दिइसकेका छन्, दक्षिण एसियामा ब्रह्मपुत्र नदी क्षेत्र पानीका लागि सम्भावित ठुलो जोखिमयुक्त क्षेत्र हुन जाने छ ।
पानीको कारणले आउने समयमा थप विभिन्न चुनौती मुख बाहेर खडा हुने छन् । गरिब तप्कालाई सफा र सुरक्षित पिउने पानी, सरसफाइको सुविधा उपलब्ध गराउने, विश्व जनसङ्ख्यालाई आवश्यक खाद्यान्न उपलब्ध गराउने जस्ता समस्याका अतिरिक्त विश्वव्यापी बढ्दो गर्मीको दुष्प्रभावको सामना गर्नुपर्ने डरलाग्दो स्थिति उत्पन्न हुने छ । यो सत्य हो कि कृषिको बढ्दो आवश्यकता, खाद्यान्न उत्पादन, ऊर्जा उपभोग, प्रदूषण र जल व्यवस्थानका कमजोरीका कारणबाट स्वच्छ पानीको आपूर्तिमाथि अहिले नै ठुला दबाब बढिरहेको छ । यति मात्रै पनि होइन, बितेका ५० वर्षमा पृथ्वीको सतहभित्रबाट तानिएको पानीको मात्रा पनि तीन गुणाले बढिसकेको विज्ञहरूले औँल्याएका छन् । कुनै राम्रो योजना र उपयुक्त संयोजनको अभावले गर्दा लाखौँलाख मानिस भोकमरी, बिमारी र ऊर्जाको कमीले ठुलो गरिबीसँग जुध्नुपर्ने हुन्छ । जहाँसम्म एसिया प्रायद्वीपको कुरा छ, विश्वको ६० प्रतिशत जनसङ्ख्या यही क्षेत्रमा रहन्छ । यस इलाकामा विश्व जलसम्पदाको एक तिहाइ हिस्सा मात्र रहेको छ । विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको मात्रै जनसङ्ख्या पौने तीन अर्ब भन्दा बढी पुगिसकेको छ । यत्रो ठुलो जनसङ्ख्यामाथि अझ थप बढेको विश्व जनसङ्ख्याका लागि २०५० सम्ममा कति पानी खपत हुन्छ सहजै अनुमान गर्न सकिन्छ ।
भविष्यमा पानीको माग र आपूर्तिको यो भयावह तथा भीषण अन्तरलाई साँघुरो बनाउन सहज नहुने प्रस्टै छ । आजको विश्वका लागि यो कम ठुलो चुनौती होइन । हुन पनि विश्वमा आज आवासीय, औद्योगिक तथा कृषि क्षत्रमा भू–जलस्रोतको बढ्दो उपयोगका कारण पानीको सङ्कट अहिले नै निकै तीव्र गतिमा गहिरिँदै गइरहेको बताइएको छ । परिणामतः धेरैजसो क्षेत्रमा पानीको गुणस्तरमा कमी आइरहेको या आइसकेको छ । त्यसले गर्दा सफा पानीमा रहने बस्ने जीवका विभिन्न प्रजातिको विविधता र पारिस्थितिक अवस्था (इकोसिस्टम) मा तीव्र गतिले नोक्सान पुगिरहेको छ । विश्वका अधिकांश भागमा पानीमा फ्लोराइड, आर्सेनिक, आइरन तथा अन्य कडा धातु रहेका कारणले समेत त्यस्तो पानी पिउनयोग्य नरहेको तथ्य पनि बारम्बार प्रकाशमा आई नै रहेका छन् ।
प्र्राकृतिक रूपले तटीय र अन्तः तटीय क्षेत्र पानीको नुनिलोपनाको समस्यासँग जुधिरहेका छन् । कतिपय देशको भूमिगत जलभण्डार प्रायः खाली भइसकेको छ, जेजति बचेको छ त्यो पनि प्रदूषित भइसकेको छ । नदीको पानी पनि पिउन योग्य रहेको छैन । यस्तो स्थितिमा बढ्दो पानीको सङ्कट सामना गर्न व्यवस्थित सामुदायिक विकेन्द्रित पानी व्यवस्थापनको उपाय अपनाउनुबाहेक अरू कुनै विकल्प छैन । यसैले पानीलाई निजीकरणको विकल्पमा सामुदायिकरण गर्ने र पानीका स्रोतलाई अतिक्रमणबाट बचाउने विषय आजको विश्वको ज्वलन्त आवश्यकता हो ।
यस क्रममा अतिरिक्त पानीसम्बन्धी कानुनको निर्माण, पानीको कुशल उपयोग, पानीलाई पुनप्र्रशोधित गर्ने र आधारभूत संरचना र संसाधनमाथि विशेष ध्यान दिनुपर्ने अपरिहार्य आवश्यकता छ । पानी मानव अस्तित्वकै निमित्त अत्यावश्यक र आधारभूत तत्व हो । यसको अभावमा मानिसको अस्तित्वकै कल्पना गर्न सकिँदैन । जल छ भने खाद्यान्न पनि हुन्छ, वनस्पति पनि हुन्छ । त्यसैले आज जल संरक्षरण गर्नु नै पर्यावरणको पनि संरक्षण हो भन्ने मान्यता विश्वव्यापी विकसित भइसकेको र भइरहेको छ । समग्रमा, के महìवपूर्ण कुरा बुझ्नै पर्ने भएको छ भने ‘पानी छ भने मानिसको भविष्य पनि छ’ । यसैले अब हामीले आजैदेखि पानीको संरक्षण र सदुपयोग गर्न सिक्नु सिकाउनु पर्छ । अन्यथा पछि पछुताउन पनि नपाइने स्थिति खडा हुने प्रस्ट छ ।
विश्वमै जलस्रोतमा दोस्रो धनी देश मानिएको नेपालमा छ हजार नदीनाला भए पनि यिनको सदुपयोग हुन सकिरहेको छैन । हाम्रा खेतबारी ८० प्रतिशत असिञ्चित नै छन् । सफा र सुरक्षित पिउने पानी पनि अझै पुग्न सकेको छैन । जलविद्युत्को ठुलो सम्भावना भएर पनि अहिलेसम्म २००० मेगावाट विद्युत्सम्म पनि पानीबाट निकाल्न सकिएको छैन । जलाशययुक्त जलविद्युत् परियोजना निर्माण गर्ने हो भने विद्युत्, सिँचाइ, जल यातायत न्यून शुल्कमा ढुवानी, सुरक्षित पिउने पानी सबैको एकीकृत विकास गर्न सकिने छ । यति ठुलो महìवपूर्ण स्रोतको सही उपयोग हुन नसकेर अनेक समस्या झेल्नु परिरहेको छ ।
आजको एक्काइसौँ शताब्दी पानीका निम्ति सङ्घर्षको शताब्दी हुने खतरा टड्कारो बन्दै गएको चेतावनी विशेषज्ञले बारम्बार दिइरहेका छन् । यस खतराप्रति बेवास्ता गर्ने र मानव अस्तित्वकै सङ्कटलाई सँघारमै निम्त्याउने अवाञ्छित कार्य हुन छाडेका छैनन् । पानीको सङ्कटले नराम्रोसँग घेरिइसक्दा पनि यसको समाधानका निमित्त गम्भीर किसिमले सोचविचार नगरिनु विडम्बनापूर्ण पीडादायक स्थिति हो ।
नेपाल अजश्र जलस्रोतले सुसज्जित देश भए पनि यसको पूर्ण सदुपयोग गर्न सकेको छैन । विश्वमा पानी सङ्कटको समस्याले भयावह रूप नलिँदै नेपालले पानी अर्थात् जलस्रोतको उपयुक्त योजना बनाएर जान सक्यो र सिक्यो भने यस स्रोतबाट नेपाली विकासका अनेकौँ समस्या हल भएर जाने छन् । समयको माग र आवश्यकतामाथि ध्यान केन्द्रित गरेर योजना बनाउन सके नेपालले पानीको उपयोग गरेर कृषि, उद्योग लगायत धेरै क्षेत्रको दिगो र भरपर्दाे विकासमा योगदान दिन सक्ने र नेपाल सम्पन्न हुने छ ।