• ११ चैत २०८१, सोमबार

कुकुरले टोके के गर्ने ?

blog

रेबिज प्राणघातक सरुवा रोग हो । रेबिज विश्वकै एक प्रमुख जनस्वास्थ्य समस्या हो । विश्वमा बर्सेनि करिब ६० हजारभन्दा बढी मानिसको मृत्यु रेबिजको कारण हुने गरेको तथ्याङ्क छ । विश्वमा करिब ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइका कारण हुने गर्छ । कुकुरको टोकाइबाहेक बिरालो, स्याल, फ्याउरो, बादर, ब्वासो, जङ्गली जीवजन्तुको र्‍याल जन्य पदार्थबाट रेबिज सर्छ । टोकेमा, चिथोरेमा, घाउ वा काटिएको छालाको पत्रमा चाटेमा वा र्‍याल परेमा रेबिज सङ्क्रमण हुने गरेको अनुसन्धानले देखाएको छ ।

रेबिज रोग कुकुरले टोक्दा त्यसको र्‍यालमार्फत स्वस्थ मानिसमा सर्ने गर्छ । हाम्रो शरीरको मांसपेशी हुँदै साना साना नसाको माध्यमबाट रेबिज रोग स्नायु प्रणालीमा फैलिने गर्छ । सामान्यतया कुकुरले टोकेको एकदेखि तीन महिनामा लक्षण देखिने गर्छ । कहिलेकाहीँ तीन महिनादेखि एक वर्षपछि पनि रेबिज रोगको लक्षण देखिन सक्छ । 

कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन । विश्व परिवेशमा हेर्ने हो भने कुकुरले टोकेको एक वर्षपछि पनि रेबिज भएर मृत्यु भएका घटना पनि छन् । कुकुरले टोक्दा हातको नसामा पर्ने गरी गहिरो घाउ बनाएको छ वा टाउको भन्दा माथि टोकेको छ भने भने केही दिनमा नै लक्षण देखापर्ने सक्छ ।

कुकुर वा अन्य जीवजन्तुले टोक्नासाथ पानीको धारा खोलेर घाउमा साबुन पानीले कम्तीमा १५ देखि ३० मिनेटसम्म धोएर सफा गर्दा पनि करिब ९० प्रतिशत रेबिज भाइरसको सङ्क्रमणको जोखिम कम हुने गर्छ । त्यस लगत्तै तुरुन्तै अस्पताल पुगेर रेबिजविरुद्ध खोप लगाउनु पर्छ । यदि घाउ गहिरो र ठुलो छ वा धेरै ठाउँमा टोकेको छ भने चिकित्सकको सल्लाहबमोजिम अनिवार्य रूपमा घाउमा नै इम्म्युनोग्लोबिन खोप लगाउनु पर्छ । कतिपय घटनामा चिकित्सकले घाउको प्रकृति अनुसार सिफारिस गरिएको रेबिजविरुद्ध खोपसँगै घाउमा नै अनिवार्य दिइने इम्म्युनोग्लोबिन खोप नलगाउँदा बिरामीको मृत्युसमेत भएकाले चिकित्सकको परामर्शलाई गम्भीरताका साथ लिई उपचार प्रोटोकल पूरा गर्नु पर्छ ।

घाउमा नै लगाउने इम्म्युनोग्लोबिन खोप स्थानीय अस्पतालमा पाइएन भने रिफर गरिएको अस्पताल पुगेर अनिवार्य खोप लगाउनु पर्छ । कुकुरले टोकेका बिरामी अस्पताल पुगे नपुगेको ? खोप लिएको वा नलिएको बारे सम्बन्धित अभिभावक र स्वास्थ्य संस्थाले पनि जानकारीमा राख्नु पर्छ । कुकुरले टोकेको घटनालाई यथासम्भव अस्पताल पुगेर वा ७२ घन्टाभित्र खोप लगाउनु पर्छ । पछिल्लो अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार कुकुर वा अन्य जीवजन्तुले टोकेको घटना ७२ घण्टा पछि जानकारीमा आए पनि रेबिजविरुद्धको खोप लगाउनु प्रभावकारी हुन्छ भन्ने तथ्य फेला परेको छ । तसर्थ जुनसुकै जीवजन्तुले टोकेको घटनालाई गम्भीर रूपमा लिएर खोप लगाउन सो बिरामीलाई सम्बन्धित अस्पतालमा पुर्‍याउन हामी सबै जिम्मेवार बन्नु पर्छ । आफ्ना स्थानीय छरछिमेकका कोही कुकुरले टोकेको घटना छ भने सो बिरामी र तिनका परिवारलाई भेट गरी खोपको मात्रा पूरा लगाए/ नलगाएको जानकारी लिइरहनु पर्छ ।

कुकुरले टोकेका बिरामीलाई ग्रामीण भेग तथा सहरी भेगका केही फार्मेसीमा टिटि खोप मात्र लगाएर पठाउने गरेको तथ्य फेला परेकाले सबै फार्मेसी सञ्चालक स्वास्थ्यकर्मीलाई पनि रेबिज रोग र खोपको बारेमा विशेष तालिम दिनुपर्ने र रेबिज रोगसम्बन्धी जानकारीमूलक सबै सार्वजनिक स्थलमा पोस्टर टाँस्नु आवश्यक छ । सबै आधारभूत अस्पतालमा रेबिजविरुद्धको खोप र इम्म्युनोग्लोब्युलिन पर्याप्त उपलब्ध गराइनु पर्छ । ग्रामीण भेगका अस्पतालमा खोपको अभावका कारण बिरामीलाई रिफर गरिएको अस्पताल पुग्न आर्थिक अभावले कठिनाइ हुने भएकाले उनीहरू थप उपचार नै नगरी प्राणघातक रोगको जोखिममा पुग्ने गर्छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि कक्षा ३ देखिकै विद्यालय पाठ्यक्रममा रेबिज रोग र उपचारसम्बन्धी सचेतनामूलक सामग्री समावेश गर्नु पर्छ । सबै विद्यालयमा रेबिज रोगसम्बन्धी सचेतनामूलक शिक्षा प्रदान गर्नु पर्छ । स्थानीय पालिकाहरूले पनि रेबिज रोगसम्बन्धी सचेतना अभियानलाई टोल र समुदाय स्तरमा पुर्‍याउनु पर्छ । कुनै पनि जीवजन्तुले टोकेको घटनालाई सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा रिपोर्टिङ गर्ने प्रणालीको विकास गरी ती बिरामीले खोप लगाए/नलगाएको, इम्म्युनोग्लोबिन लगाउनुपर्ने भए रिफर अस्पताल पुगे/नपुगेको, रेबिज विरुद्धको खोपको पूरा मात्रा लगाए/नलगाएको सम्पूर्ण फलोअपसहितको रिपोर्टिङ प्रणालीलाई कडाइका साथ पालना गराउनु पर्छ ।

सामुदायिक कुकुरको बन्ध्याकरण अभियानलाई तीव्रता दिई घरमा पालिएको कुकुर बिरालोलाई नियमित खोप लगाउने र घरपालुवा कुकुर वा बिरालोले टोकेमा वा चिथोरेमा पनि रेबिजविरुद्धको खोप अनिवार्य लगाउनु पर्छ । रेबिज सङ्क्रमित कुकुरले टोकेर मात्र रेबिज हुने नभई घरपालुवा कुकुरसँग खेल्दा, जिस्किँदा हुने टोकाइका घटनाबाट पनि रेबिज सङ्क्रमण भएको तथ्याङ्क पाइएको छ । 

रेबिजविरुद्धको खोप सबै अवस्था (गर्भवती, सुत्केरी, नवजात शिशु, ज्येष्ठ नागरिक, दीर्घ रोगी) र सबै उमेरका बिरामीले लगाउन सक्छन् । यो खोप लगाउन कुनै पनि बाधा छैन । बेलैमा खोप नलगाउँदा बिरामीको मृत्यु हुने हुँदा रेबिजविरुद्धको अभियानलाई सबै सरोकारवाला निकायले गम्भीरताका साथ लिई कार्ययोजना बनाउनु पर्छ । रेबिजविरुद्धको खोप पाखुरा वा तिघ्राको देब्रे पट्टि छालाको बाहिरी तहमा लगाउनु पर्छ । पहिले १४ मात्रा लगाउनुपर्ने खोप अहिले पाँच मात्रा हुँदै तीन मात्रा लगाउनुपर्ने प्रोटोकल छ । रेबिजविरुद्धको खोप (०,३,७) सकेसम्म टोकेकै दिन, तेस्रो दिन र सातौँ दिन गरी तीन डोज अस्पताल पुगेर अनिवार्य लगाउनु पर्छ । 

जीवजन्तुको टोकाइबाट हुने घटनाको सर्भिलेन्स बढाउनु पर्छ । सबै क्षेत्रका स्वास्थ्यकर्मीलाई कुकुर तथा जीवजन्तुको टोकाइबाट सर्ने रेबिजको प्रभावकारी उपचारका लागि निरन्तर तालिम प्रदान गर्नु पर्छ । टोकाइ धेरै ठाउँमा छ र घाउ गहिरो छ भने घाउमै रेबिज इम्म्युनोग्लोब्युलिन लगाउनु पर्छ । कुकुर वा जीवजन्तुले गहिरो गरेर टोकेको घटनालाई तुरुन्त काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताल (टेकु अस्पताल), भरतपुर अस्पताल, चितवन, नेपालगन्जको भेरी अस्पताल, बुटवलको लुम्बिनी अस्पताल, विराटनगरको कोशी अस्पताल, कैलालीको सेती अस्पताल जस्ता केन्द्रीय स्तरका ठुला अस्पतालमा रिफर गर्नु पर्छ । 

आमसमुदायमा रेबिजविरुद्ध सचेतना अभिवृद्धि गर्नु पर्छ । अन्तर निकाय सहयोग तथा समन्वयमार्फत रेबिजविरुद्धको अभियानलाई सफल बनाउनु पर्छ । सबै प्रकारका तातो रगत भएका जीवजन्तुले टोकेमा खोप लगाउनुपर्ने प्रणालीबारे सबै स्थानीय समुदाय, विद्यालय तथा संस्थालाई सचेतना अभिवृद्धि गराउनु पर्छ । रेबिजको कारण औसत वार्षिक १२ देखि १४ जनाको मृत्यु हुन्थ्यो । अहिले भ्याक्सिन व्यापक मात्रामा उपलब्ध हुँदा पनि मृत्युदर घटेको छैन । घरपालुवा वा सडकमा पाइने सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्ध अनिवार्य खोप लगाउनु पर्छ । बौलाहा कुकुरले टोकेमा मात्र रेबिज सर्ने नभई सबै कुकुरले टोकेमा रेबिज सर्न सक्ने जोखिम हुने हुँदा खोप लगाउने कार्यलाई सबैले महत्वका साथ लिनु पर्छ ।

सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने गर्छ । रेबिजविरुद्धको खोप लगाइसकेपछि रेबिजको जोखिम हुँदैन । त्यसैले कुकुरले टोक्नेबित्तिकै खोप लगाएमा रेबिज सङ्क्रमण हुनबाट बच्न र बचाउन सकिन्छ । रेबिजको सङ्क्रमण मांसपेशी हुँदै स्नायु प्रणालीमा फैलिसकेपछि बिरामीलाई बचाउने कुनै उपचार हुँदैन । त्यसैले रेबिज जस्तो प्राणघातक रोगबाट बच्न र बचाउने अभियान सफल पार्न कुकुरको टोकाइबाट बच्ने, टोकी हालेमा साबुनपानीले धारा खोलेर घाउ सफा गर्ने र तुरुन्तै अस्पताल पुगेर अनिवार्य खोप लगाउने कार्यलाई हामी सबैले जिम्मेवार भएर पालना गर्नु पर्छ । सन् २०३० सम्म रेबिज सङ्क्रमणका कारण हुने मानव मृत्युलाई शून्यमा झार्ने विश्वव्यापी लक्ष्यलाई सफल पार्र्न हामी सबै सरोकारवाला निकायले आपसी सहयोग, समन्वय र सहकार्य गर्नु अपरिहार्य छ ।