• ११ चैत २०८१, सोमबार

आगलागीबाट २२ लाख बराबरको क्षति

blog

जङ्गलबाट सुरु भएको आगोले ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर जलेर नष्ट । तस्बिर : रमेश विश्कर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत १० गते ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर – १ जुकेपानीस्थित निस्तिखोलाको जङ्गलबाट सुरु भएको आगोले २२ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगोले स्थानीय ५० वर्षीय कमला कुँवरको ढुङ्गा माटोले बनेको टिनले छाएको दुई तले कच्ची घर र एक तले कच्ची गोठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो त्यहाँको खरबारी हुँदै निस्केको आगोले घरभित्र रहेका सम्पूर्ण सामान जलेका छन् । त्यसैगरी गोठमा रहेका चार बाख्रा, दुई भैंसी, दुई कुखुरा जलेर नष्ट भएका हुन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।