विराटनगर समाचारदाता
विराटनगर, चैत १० गते । प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक विराटनगरमा आइपुगेको प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
नेकपा (एमाले) को शुभेच्छुक सङ्गठन प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन पार्टीका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा आयोजक, मनोनीत र निर्वाचित गरी नौ सय जना प्रतिनिधि सहभागी हुने सचिव लुइँटेलले जानकारी दिनुभयो । अधिवेशनले नौ पदाधिकारी र ९० केन्द्रीय सदस्य गरी ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।
विराटनगरको होटल मनास्लुमा आयोजना हुने अधिवेशनमा अहिलेसम्म अध्यक्ष पदका लागि दुई जनाको दाबेदारी सार्वजनिक भएको छ । अध्यक्ष पदका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । केही साताअघि मात्र चौतारीका उपाध्यक्ष गणेश पाण्डे नेकपा (एमाले) को प्रचार विभागको सचिव नियुक्त हुनुभएको थियो तर उहाँले केही दिनपछि उक्त पदबाट राजीनामा दिएर प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि दाबी गर्नुभएको हो ।