चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ९ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा हिमपात भएको छ । शनिबार साँझपख वर्षासँगै पाथीभरा क्षेत्रको फेदीसम्म हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङका अनुसार पाथीभराधाम क्षेत्रमा निकै बाक्लो हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरामा वर्षासँगै हिमपात भएको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।
फेदी बजारका होटल व्यवसायीसमेत रहनुभएका महतले फेदीसम्म निकै हिउँ परेको छ । फेदी बजारसम्म नै हिमपात भएपछि चिसो बढेको छ । फेदी बजार क्षेत्र आकर्षक देखिएको छ । चैतको दोस्रो साता बित्न लाग्दा हिमपात भएपछि पाथीभरा दर्शनमा आएका तीर्थयात्री हिउँमा रमाउन पाएको उहाँले बताउनुभयो ।
पाथीभरा क्षेत्रमा यसवर्ष पटक–पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शनसँगै भक्तजनले हिउँमा रमाउन पाएको समितिले जनाएको छ । अहिले पाथीभरा दर्शनको मौसम (सिजन) पनि सुरु भएकाले तीर्थयात्रीको उपस्थिति बाक्लिँदै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।