• १६ चैत २०८१, शनिबार

‘बाल शिक्षालाई प्राथमिकता क्षेत्रमा समेटिनुपर्छ’

blog

कार्यक्रममा अतिथि तथा सहभागीहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ९ गते । सभामुख देवराज घिमिरेले बाल शिक्षालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा समावेश गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५ औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालको शिक्षामा निजी क्षेत्रको योगदानको चर्चा गर्दै संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा निजी क्षेत्रको योगदानको कदर हुने बताउनुभयो । उहाँले नेपालमा मन्टेश्वरी पद्धति राणाकालमा भित्रिएको बताउँदै त्यो बेलाको प्रयासले निरन्तरता पाएको भए नेपालको शिक्षामा परिवर्तन भइसक्ने थियो भन्नुभयो । 

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले मुलुकमा गणतन्त्र स्थापना भएको लामो समय भइसक्दा पनि नयाँ शिक्षा ऐन जारी हुन नसक्नु दुःखद रहेको बताउँदै छिट्टै शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिनुभयो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले कतिपय मन्टेश्वरी शिक्षालय गलत बाटोतर्फ गएको र संख्या थप्नुभन्दा स्तरवृद्धिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्दै शिक्षा विधेयकले गरेको कम्पनी खारेजीको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट गर्नुभयो । विधेयकमा निजी विद्यालय कम्पनीको सट्टा गुठीअन्तर्गत सञ्चालित हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कार्यक्रममा तालिम केन्द्रका संस्थापक प्रबन्ध निर्देशक बसन्त थापा र संस्थापक निर्देशक पवित्र लिम्बूले नेपालमा मन्टेस्वरी शिक्षाको तालिम प्रदान गर्ने संस्था स्थापनापछि यस्ता शिक्षालय झाँगिएको बताउनुभयो । सो संस्था सन् २००१ मा सुरु भएको थियो । राणा प्रधानमन्त्री मोहनशमशेरको पालामा २००५ सालमा नेपालमा मन्टेश्वरी भित्रिएको थियो । त्योबेला भारतमा तालिम लिएका नेपाली तथा भारतीय शिक्षक ल्याइएको थियो । सरकारी स्तरबाट सञ्चालित सो संस्था पछि कलेज अफ एजुकेसनको ल्याबोरेटरी स्कुलमा गाभिएको थियो ।