राधा लुइटेल
फिदिम, चैत ९ गते। पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ।
दुर्घटनामा पर्नुका साथै विभिन्न कारण हाड जोर्नी खुस्किएर र भाँचिएर रड स्टिल राखे पनि आर्थिक अभावका कारण अप्रेसन गरेर झिक्न नसकेका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। योबाहेक एक हजार दुई सय ३६ जनाको हाडजोर्नी र नशा परीक्षण भएको बताइएको छ।
फिदिम नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र पाँचथर जिल्ला अस्पतालको संयुक्त आयोजनामा पाँचदिने निःशुल्क शिविर आयोजना भएको हो।
पाँचथर जिल्ला अस्पतालमा जारी शिविर चैत ९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
शिविरमा अर्थपेडिक अस्पताल काठमाडौँका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्छ। शिविर अवधिभर एक सय जनाका शरीरबाट स्टिल रड झिक्ने लक्ष रहेको बताइएको छ।