नगेन्द्रकुमार कर्ण
महोत्तरी, चैत ९ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका –४ बस्ने श्रवण यादवको १० वर्षिय छोरा आलोक यादव रहेको प्रहरीले जनाएको छ ।
साथीभाइसँग खेल्दाखेल्दै सोही वडामा नयाँ बनेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको काका सुकेश यादवलाई उदृत गर्दै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नुहाउने क्रममा पोखरीभित्र उनी डुबेका थिए ।
अभिभावकले पोखरीबाट बालकलाई निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बालकको शवलाई पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।