लीलाधर वली
घोराही, चैत ९ गते । बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिब १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।
घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि दैनिक मानिसहरु पुग्ने गरेको स्थानीय बताउँछन् । गर्मीको समयमा झरनाको अवलोकनसँगै पौडी खेल्नका लागि धेरै मानिसहरु आउने गरेको बबई गाउँपालिका –५ निवासी स्थानीय शेरबहादुर बस्नेत बताउनुहुन्छ ।
उहाँका अनुसार झरना अवलोकन, मनोरञ्जन तथा वनभोजका लागि दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् । झरनाको प्रचार–प्रसारसँगै विकासका लागि पूर्वाधार निर्माण भएपछि यो क्षेत्रमा आउने मानिसको संख्यामा वृद्धि भएको भन्दै बस्नेतले भन्नुभयोे, ‘पहिले खास चर्चामा थिएन, मानिस पनि आउँदैनथे । पछिल्लो समय झरना क्षेत्रमा पूर्वाधार विकाससँगै प्रचार–प्रसार भएपछि आउने मानिसको सङ्ख्या दोब्बरले बृद्धि भएको छ ।’
उहाँका अनुसार खासगरी सार्वजनिक बिदा र चाडपर्वको समयमा झरना हेर्न आउनेको सङ्ख्या धेरै हुनेगरेको छ । जङ्गल क्षेत्रमा भएको र स्तरीय सडक नहुँदा बर्षातको समयमा झरनास्थलसम्म पुग्न समस्या हुने भएकाले सवैभन्दा पहिले सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने अर्का स्थानीय सुनिता बुढाले बताउनुभयो ।
सडकको अवस्था सुधार गर्दै उक्त क्षेत्रमा पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्न सके बाह्य तथा अन्तरिक पर्यटनको वृद्धि हुने उहाँको भनाइ छ । झरनासँगै जोडेर पर्यटक प्रवर्धनका लागि बबई नदीमा जलविहार, साहसिक खेल, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु अवलोकनका लागि पनि राम्रो सम्भाना रहेको र त्यसका लागि पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो ।
‘अहिले पुरन्धारा झरना मात्र मानिसहरु हेर्न आउने गरेका छन्, यहाँ झरना मात्र होइन, बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा र जङ्गली जीवजन्तु सकिने अवस्था छ’ स्थानीय बुढाले भन्नुभयो, ‘यी सबैलाई समेटेर विकास गर्न आवश्यक छ । जसले घुम्नेसँगै बबईको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ ।’
झरना भएको क्षेत्रलाई व्यवस्थित रुपमा विकाससँगै प्रचार–प्रसारका लागि गुरुयोजना निर्माण गरेर विकासको काम सुरु भए पनि बजेट अभावका कारण पूरा गर्न नसकेको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउनुहुन्छ । झरना भएको स्थानसम्म पुग्नका लागि प्रदेश सरकार तथा बबई गाउँपालिकाको सहयोगमा विभिन्न समयमा सडक निर्माण, पिकनिक स्पोर्टस निर्माण, हि)ड्ने बाटोमा काठको रेलिङ, भर्याङ, शौचालय लगायत निर्माण गरिएको बताउनुभयो ।
अध्यक्ष खत्रीका अनुसार डिभिजन वन कार्यालय मार्फत केही बर्षअघि करिव १४ लाख खर्च गरेर झरनासम्म पुग्नका लागि काठको रेलिङ, बस्नेत प्रतिक्षालय लगायतका संरचना निर्माण गरिएको तर ती प्रयाप्त नभएको बताउनुहुन्छ । उहाँका पार्क क्षेत्रमा सडक समेत कालोपत्रे गरिएको अन्य क्षेत्रमा पनि ग्राभेल गरिएको बताउनुभयो ।
झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिने गरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलबाट ३० रुपियाँ, कार तथा जिपबाट दुईसय र बसबाट दुईसय ५० रुपियाँ लिने गरिएको छ ।