भैरहवा समाचारदाता
भैरहवा, चैत ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव सुरु भएको छ । नेपालस्थित चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा सो महोत्सव सुरु भएको हो ।
महोत्सवको शुक्रबार उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रेमीको पवित्र स्थल पनि भएको बताउनुभयो । उहाँले यसैले लुम्बिनीलाई शान्ति पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता, सद्भाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो ।
उहाँले विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री पाण्डेले चिनियाँ दूतावासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवर्धनसँगै मित्रता, भ्रातृत्व र एकतालाई बलियो बनाउने बताउनुभयो । नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताउनुभयो । उहाँले हालै पर्यटन प्रवर्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्यान्ड, कम्बोडियालगायतका देशसँग सहकार्यमा सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति सहर बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी बुद्वको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताउनुभयो । उहाँले बुद्धिज्मको उत्पत्ति र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले लुम्बिनी विश्वभरका बौद्धमार्गीसँगै विश्वभरका शान्तिप्रियको पनि पवित्र स्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, सांस्कृतिक कार्यक्रमले विश्वभर सकरात्मक सन्देश जाने प्रस्ट्याउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताउनुभयो । उहाँले नेपाल, चीन र अन्य राष्ट्रबिच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदान प्रोत्साहन दिन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनको उद्घाटनका अवसरमा मायादेवी मन्दिर उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।