गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । विश्व कविता दिवसका अवसरमा साहित्य सदन नेपालको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगितासहितको कविता महोत्सव, २०८१ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास पहिलो, भक्तपुरका भीष्मराज काफ्ले दोस्रो र पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही तथा मोरङका सोमनाथ दाहाल तेस्रो हुनुभएको छ ।
पहिलो हुनेलाई तीस हजार, दोस्रो हुनेलाई बिस हजार र तेस्रो हुनेलाई जनही १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती र सौन्दर्य चिन्तक निनु चापागाईंले नेपाली साहित्यका बारे आआफ्नो धारणा राख्नुभएको थियो । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृतसहित २२ जना कविले कविता प्रस्तुत गरेका थिए ।
अतिथि कविहरूमा सविता बराल, मातृका पोखरेल, डा. राजेन्द्रप्रसाद अधिकारी, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, भुवनहरि सिग्देल, कल्पना भट्टराई, डिल्लीप्रसाद ‘मूलतिहुन’, अमर गिरी, भैरवी भूगोल, रेजिना आपगाईं, बाजुराम पौडेल, अर्जुन पराजुली, विन्दु शर्मा, प्रज्वल अधिकारी, रजनी ढकाल, हीरामणि दुःखी, जगदीशचन्द्र भण्डारी, गौरी देवकोटा, लक्ष्मण गाम्नागे, रामचन्द्र दाहाल, निर्मलरमण पराजुली रहनुभएको थियो । कार्यक्रममा सदनका सचिव प्रह्लाद पोख्रेल, उपाध्यक्ष मित्रलाल पङ्ज्ञानीले महोत्सवको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । प्रतियोगिताका लागि गोविन्द घिमिरे, वेदमणि र नर्मदेश्वरी सत्याललाई मूल्याङ्कन समितिको जिम्मेवारी दिइएको सचिव पोखरेलले जानकारी दिनुभयो ।