भैरहवा समाचारदाता
भैरहवा, चैत ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि थप पहल गर्ने बताउनुभएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विमानस्थलका अधिकारी, पर्यटन व्यवसायी र सरोकारवालासँगको छलफलमा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि सरकारले ल्याएको कार्ययोजना अगाडि बढाउन प्रधानमन्त्रीसँग बसेर निर्णायक छलफल गर्ने जानकारी दिनुभएको हो ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल सरकार मन्त्रीपरिषद् बैठकले केही समयअघि कार्ययोजना ल्याएको थियो । उक्त कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन नभएको र श्रमसम्बन्धी सेवाहरू रुपन्देही नआइसकेको भन्दै व्यवसायीले गुनासो गरेका थिए । मन्त्री पाण्डेले कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायबिच छिट्टै प्रधानमन्त्रीसँग बस्ने जानकारी दिनुभयो ।
“कार्यान्वयन नहुने हो भने कार्ययोजना ल्याएको, राजपत्रमा प्रकाशित गरेको के मतलब भयो ?” उहाँले भन्नुभयो, “त्यसैले प्रधानमन्त्रीलाई भेटेर सम्बन्धित मन्त्रालय र विभागहरूलाई बोलाउन लगाएर हामी एउटा निर्णायक छलफल गर्छौं ।” मन्त्री पाण्डेले अहिले भैरहवा अन्तर्राष्ट्रिय उडान गरिरहेकाका लागि अर्को तालिका पनि निकाल्ने र त्यसका लागि प्रक्रिया चलिरहेको जानकारी दिनुभयो ।
नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवामै राखेर चलाउनेबारे पनि छलफल गरिरहेको भन्दै त्यसका लागि थप जहाजको आवश्यकता पर्ने पाण्डेले बताउनुभयो । नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउने भन्नेबारे छलफल भइरहेको भन्दै एयरलाइन्स प्रभावकारी भएमा मुलुकको उड्डयन र पर्यटन क्षेत्र चलायमान हुने उहाँले दाबी गर्नुभयो ।
“कम्बोडियामा सिधा उडान हुने हो भने ९० प्रतिशतभन्दा बढी बौद्धमार्गी लुम्बिनी आउन पाउँछन् । थाइल्यान्ड, अस्ट्रेलियामा पनि आफ्नै जहाज चलाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो, “हिजो अर्थमन्त्री, अर्थ सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालगायतबिच नेपाल एयरलाइन्सको एउटा न्यारोबडी भैरहवा राख्ने हो भने त्यसैले चलायमान गराउँथ्यो भन्नेबारे छलफल भयो ।” नेपाल एयरलाइन्सको आठ/दस वटा वाइडबडी, त्यत्तिकै सङ्ख्यामा न्यारोबडी र ट्विनअटर आजको आवश्यकता भएको भन्दै उहाँले त्यसले सबै क्षेत्रलाई चलायमान गराउने उल्लेख गर्नुभयो ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदा केही आशाको सञ्चार भएको भन्दै केही भएन भनेर निराश नहुन मन्त्री पाण्डेले आग्रह गर्नुभयो । कुनै पनि एयरपोर्ट बन्नासाथ गुल्जार नहुने भन्दै चरण पार गर्दै जाने पाण्डेको भनाइ थियो ।अन्तर्क्रियामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवाको अन्तर्राष्ट्रिय उडानमा जजिरा र थाई एयर एसियाले राम्रै यात्रु पाएको बताउनुभयो । फ्लाई दुबईले पनि सुधार गर्दै लगेको उहाँले उल्लेख गर्नुभयो । भैरहवाबाट मार्च २० सम्म १३ हजार १८१ जनाले अन्तर्राष्ट्रिय उडान र अवतरण गरेको उहाँले जानकारी दिनुभयो ।