• १० चैत २०८१, आइतबार

परिपक्व छ, ढाकामा पाका हातको सिप

blog

महोत्सवमा तानमा ढाका बुन्दै तेह्रथुम म्याङ्लुङ–१ स्थित फक्ताङ्लुङ ढाका कपडा उद्योग सञ्चालक शान्तिला फुदुङ । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, चैत ९ गते । उमेरले ५० टेक्नुभएकी शान्तिला फुदुङले १२ वर्षको उमेर हुँदा खाँडीको कपडा तानमा बुन्ने सिप सिक्नुभयो । खाँडीलाई बिस्तारै ढाकामा रूपान्तरण गरेदेखि तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङ्लुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा छ । 

बाल उमेरदेखि तानमा मन दिनुभएकी फुदुङ अहिले ढाका उद्योगीका रूपमा चिनिनुहुन्छ । २०५९ सालमा आफैँ उद्योग स्थापना गरेर १० वटा तानमा पाँच जनालाई रोजगारी दिएर ढाकाका कपडा उत्पादन गर्दै आउनुभएको छ । 

विराटनगरमा ढाका कपडा महोत्सव लाग्ने भएपछि फुदुङ तानसहित प्रदर्शनीमा आउनुभएको छ । उहाँका लागि यो सुनौलो अवसर पनि हो । “धेरै बिक्दैन भनेर तयारी कपडा कम लिएर आएँ, बिहीबार महोत्सव उद्घाटनका क्रममा १२ हजार रुपियाँको कपडा बिक्री भयो,” फुदुङले भन्नुभयो, “आफैँले उत्पादन गरेको कपडा महोत्सवमा सजाएर राख्न पाउँदा खुसी लागेको छ ।” 

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ को सोनी ढाका कपडा उद्योग सञ्चालक वचनकुमारी लिम्बू पनि दैनिक मन तानमै झुम्मिनुहुन्छ । २०५३ सालदेखि ढाका उद्योग स्थापना गरेर कपडा बुन्दै आएकी लिम्बूको जीविकोपार्जन मात्रै चलिरहेको छैन, ढाकामा फेसनको साइनो जोड्न पनि आउन थालेको छ । उहाँले आफ्नै उद्योगमा उत्पादन गरेका महिला र पुरुषका ढाका कपडाले अहिले बजार पनि राम्रो पाएको छ । ५३ वर्षीय लिम्बूका अनुसार सिपले पेसा पक्रायो, पेसाले उद्योगी बनाएर चिनाएको छ । उहाँको उद्योगमा पनि १० वटा तानमा ढाका कपडा उत्पादन हुँदै आएको छ । 

धरान उपमहानगरपालिका–११ मा २०५२ सालदेखि कल्पना ढाका उद्योग स्थापना गरेर कपडा बुन्दै आउनुभएकी कल्पना राई, आफ्नो मेहनत खेर नजाने बताउनुहुन्छ । “जे होस् १८ वर्षको हुँदा तानमा बसेकी म, २२ वर्षदेखि लगातार तानमै बिताउँदा पनि थाकेकी छैन,” राईले भन्नुभयो, “गाउँमा उत्पादन भएको ढाका सहरमा फेसनेबल भएर प्रयोगमा आइरहेको छ ।” 

माग अनुसार यसमा बुट्टा भर्नेदेखि डिजाइन पस्कनेसम्मको सिपमा महिलालाई पोख्तसमेत बनाइरहेको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “धागो बुनाइ सिप हो, यो हातमा बसेपछि नयाँ डिजाइन पस्कन कुनै असजिलो भएको छैन ।” ढाकामा पाका भएकाको अनुभवमा अहिले युवापुस्ताको रोजाइमा यो पोसाक पर्न थालेको छ । त्यसले व्यवसायमा नयाँपनसमेत भिœयाएको छ । ढाकामा फेब्रिकको संयोजन गरेर बनाइने लेहेङ्गा, चोली, वानपिस, कोट, साडीदेखि जुत्ताचप्पल र ब्यागसमेत आकर्षक हुने गरेका छन् । 

ढाकाको छुट्टै पहिचान र मौलिकता पनि छ, फक्ताङ्लुङ ढाका कपडा उद्योग सञ्चालक फुदुङ भन्नुहुन्छ, फेसन भित्र्याएर त्यसलाई तेह्रथुमे भनियो तर त्यो चाँहि भन्न हुँदैन । तेह्रथुमको ढाकालाई फेब्रिकसँग संयोजन गरेर दिइने नयाँ डिजाइन समयको माग हो, त्यो अर्गानिक चाँहि हैन । फुदुङले उद्योग सञ्चालन गर्न सहज असहज दुवै रहेको सुनाउनुभयो । असहज चाँहि ढाकाका लागि धागो देशमा छैन । आयात हुने धागोबाट बुन्ने ढाकाको मूल्य बढी पर्छ । उहाँले स्थानीय सरकारले केही आर्थिक सहयोग गरिरहेको बताउँदै यसलाई प्रदेशले प्राथमिकतामा राख्नुपर्ने माग गर्नुभयो । 

नेपाली ढाकाको पोसाकले गौरवको सङ्केत गर्छ । पहिला चोलो, टोपी, सल मात्रै बन्ने ढाकाबाट अहिले वानपिस, गाउन, लेहेङ्गा, सारीब्लाउज, स्कर्ट, ज्याकेट, वेस्टकोट, टिसर्ट, ट्राउजर, दौरासुरुवालसमेत बन्ने गरेको धरानको कल्पना ढाका उद्योग सञ्चालक राईले जानकारी दिनुभयो । जति धेरै किसिमका कपडा बुन्ने उति नै धेरै किसिमको तान पनि लगाउनुपर्ने हुन्छ । 

नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोसाकलाई बजारीकरण गर्न विराटनगरमा बिहीबारबाट ढाका कपडा महोत्सव सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्रयोग बढाउने उद्देश्यसहित विराटनगरमा आयोजना गरेको महोत्सवमा ३० उद्योगका उत्पादन स्टलमा राखिएका छन् । त्यसमध्ये तानसहित उद्योगीले ढाकाका कपडा प्रदर्शनमा राखेका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, महिला उद्यम समिति संयोजक सुरु केसीले पहाडी ग्रामीण क्षेत्रका महिला जोडिएका उद्योगको प्रवर्धन गर्ने उद्देश्य पनि महोत्सवमार्फत राखिएको बताउनुभयो ।