डेनमार्कका लागि अमेरिकी राजदूतले तयार पारेको योजना अनुसार अमेरिकाले सोझै ग्रिनल्यान्ड खरिद नगरी विस्तारित त्रिपक्षीय व्यापारका माध्यमबाट त्यसलाई हासिल गर्नु थियो ।
ग्रिनल्यान्ड हासिल गर्ने अमेरिकी कोसिसको इतिहास धेरै लामो छ । सन् १८६८ मा अमेरिकाका विदेश मन्त्रीले ग्रिनल्यान्डलाई एक यस्तो भूमिका रुपमा महत्व दिए जसले ‘विश्वको वाणिज्य व्यापारमा नियन्त्रण’ का लागि अमेरिकालाई सक्षम बनाउने छ ।
विदेशमन्त्री विलियम सिवार्ड सन् १८६८ मा त्यस क्षेत्रलाई खरिद गर्ने प्रयास गरे । एक वर्षपहिले मात्र सिवार्डले ७२ लाख अमेरिकी डलरमा रुसबाट अलास्का खरिद गर्न मुख्य वार्ताकारको भूमिका निर्वाह गरेका थिए । यदि अलास्का प्राप्तिलाई सिवार्डको राजनीतिक रूपमा मूर्खतापूर्ण कार्य नमानिएको भए ग्रिनल्यान्ड (आइसल्यान्डलाई समेत) लाई अमेरिकाको भूमि विस्तारमा जोड्ने आफ्नो इच्छामा उनी सफल हुने थिए ।
उत्तरी अमेरिकी क्षेत्र तथा महत्वपूर्ण हुँदै गएको आर्कटिक क्षेत्रमा अमेरिकाको नियन्त्रण विस्तारको विषयसँग जोडेर ग्रिनल्यान्ड र अन्य उत्तरी क्षेत्र– क्यानडासमेतमा अमेरिकाको लामो समयदेखिको चासो रहिआएको भनाइ छ, फ्लोरिडा स्टेट युनिभर्सिटीका इतिहासवेत्ता रोन डोयलको ।
डोयलले भनेका छन्, “रोचक कुरा त के छ भने अमेरिकी विचारधाराको ठूलो हिस्साले पश्चिमतिर हेरेको छ तर हरेक पटक यसबारेमा कुरा चल्छ, लौ उत्तरतिर हेरौँ । अलास्का खरिद सरह ग्रिनल्यान्ड पनि उपयुक्त छ ।”
यदि इस्वी संवत्को १९ औँ शताब्दीको मध्यसम्म अधिकांश अमेरिकाका लागि अलास्का ‘टेरा इन्कग्निटा’ अर्थात् अज्ञात भूमि थियो भने ग्रिनल्यान्डका बारेमा त झनै जानकारी थिएन । यस कारण सिवार्डले डेनमार्कको अधीनमा रहेको हिउँले भरिपूर्ण ग्रिनल्यान्डको सन् १८६७ मा विस्तृत सर्वेक्षण गर्न आदेश दिए । अनि सन् १८६८ मा सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले ग्रिनल्यान्डलाई प्रचुर सम्भावनाको भूमिका रूपमा चित्रित गर्यो ।
प्रतिवेदनका बारेमा सिवार्डले सङ्क्षेपमा यसरी लेखका छन्, “ग्रिनल्यान्डमा ठूलो परिमाणमा ह्वेल, वालरस, सिल र सार्क, कोड, साल्मन, साल्मन–ट्राउट, हेरिङ, फ्याउरा, ब्वाँसा, रेन्डियर, भालु तथा असङ्ख्य चरा पाइन्छन् । पश्चिमी किनाराका कैयौँ ठाउँमा राम्रो कोइला पाइन्छ । जो पर उत्तरसम्म फैलिएको छ । यिनलाई सस्तोमै उत्खनन गरिन्छ र सुविधासम्पन्न बन्दरगाहनजिक छन् ।”
जस्तो सिवार्डले अलास्काका साथमा गरेका थिए त्यसरी नै उनले ग्रिनल्यान्डलाई अक्षय रहने प्राकृतिक स्रोत विशेष गरी कोइलाका साथै ह्वेलको बोसो र क्रियोलाइट नामको खनिजको भूमिका रूपमा महìव दिएर प्रचार गरे । यी वस्तुको प्रचुरतामा पहुँच पुर्याएर अमेरिकाले ‘विश्वको वाणिज्य व्यापारमा नियन्त्रण’ गर्न सक्ने भनाइ उनको थियो ।
सन् १८६८ सम्म अलास्का खरिदका विषयमा समाचारपत्रहरूले ‘सिवार्डको मूर्खता’, ‘सिवार्डको बर्फिलो बाकस’ तथा ‘एन्ड्रु जान्सनको ध्रुवीय भालु बगैँचा’ भनेर मजाक उडाइरहेका थिए । ‘युकोन गोल्ड रस’ ले अलास्कालाई मूल्यवान् सम्पत्तिका रूपमा परिचित गराउन अझै दशकौँ समय लाग्यो । सुन खानी उत्खननका लागि अलास्कामा मानिस ओइरिन थालेपछि सिवार्डको कदमलाई सार्थक मान्न थालिएको थियो । त्यसअघिसम्म अमेरिकी कङ्ग्रेस र जनतालाई चारैतिर हिउँ नै हिउँ भएको क्षेत्रमा कुनै रुचि थिएन । यस कारण ग्रिनल्यान्ड खरिद गर्न सिवार्डले राखेको प्रस्ताव विफल हुन पुग्यो ।
इस्वी संवत्को २० औँ शताब्दीको सुरुमा अमेरिकाले ग्रिनल्यान्ड आफ्नो अधीनमा ल्याउन अर्को योजनामा काम गर्न थाल्यो । डेनमार्कका लागि अमेरिकी राजदूतले तयार पारेको योजना अनुसार अमेरिकाले सोझै ग्रिनल्यान्ड खरिद नगरी विस्तारित त्रिपक्षीय व्यापारका माध्यमबाट त्यसलाई हासिल गर्नु थियो । सन् १९१० सेप्टेम्बर २० मा राजदूत माउरिस एगनले भूमि विनिमयको विस्तृत रूपरेखासहितको एक पत्र अमेरिकाको विदेश विभागलाई पठाए । त्यतिबेलासम्म पनि डेनमार्क र जर्मनीको सिमानामा रहेको स्लेसविग–होलस्टाइन नामको मूल्यवान् इलाका गुमाएको पीडामा डेनमार्क छटपटाइरहेको थियो । डेनमार्कका नेतासँगको कुराकानीमा एगनले यस्तो उपाय निकाले जसबाट स्लेसविग–होलस्टाइन इलाका पुनः डेनमार्कले प्राप्त गर्न सक्थ्यो । जुन इलाका सन् १८६४ मा जर्मन महासङ्घले कब्जा गरेको थियो ।
एगनले राखेको भूमि विनिमयको रूपरेखा यस प्रकार थियो : १. डेनमार्कले ग्रिनल्यान्ड अमेरिकालाई सुम्पने । २. ग्रिनल्यान्डको सट्टामा अमेरिकाले फिलिपिन्समा टापुहरूको एक समूह डेनमार्कलाई प्रदान गर्ने । ३. त्यसपछि डेनमार्कले फिलिपिन्सका टापु जर्मनीलाई सुम्पने (जो पूर्वमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको थियो ।) ४. त्यसको बदलामा जर्मनीले स्लेसविग–होलस्टाइन इलाका डेनमार्कलाई फिर्ता गर्ने ।
एगनले आफ्नो योजनालाई एक ‘साहसिक सुझाव’ भने र अमेरिकी सरकार यसमा सहमत रहेको पनि देखियो । भूमि विनिमयद्वारा ग्रिनल्यान्डमा नियन्त्रण बनाउने कामकारबाही अगाडि नबढे पनि यस योजनाले अमेरिकालाई सन् १९१७ मा डेनमार्कबाट भर्जिन आइल्यान्ड्स खरिद गर्न मार्ग प्रशस्त भने गरेको भन्न सकिन्छ ।
डेनमार्कबाट ग्रिनल्यान्ड खरिद गर्नका लागि अमेरिकाले वैध रूपमा नजिकबाट प्रयास गरेको सन् १९४६ मा हो । द्वितीय विश्वयुद्ध समाप्त भएको लगत्तै अमेरिकाले ग्रिनल्यान्ड आफ्नो मातहतमा ल्याउन जोडबल गरेको थियो । युद्धकालमा मित्रराष्ट्रका १० हजारभन्दा बढी लडाकु विमानले जर्मनीमा बमवर्षा गर्नका लागि ग्रिनल्यान्डमा इन्धन पुनर्भरण गरेका थिए ।
‘एक्सप्लोरिङ ग्रिनल्यान्ड : कोल्ड वार साइन्स एन्ड टेक्नोलोजी अन आइस’ पुस्तकका सहसम्पादक डोयल भन्छन्, “पेन्टागनले ग्रिनल्यान्डलाई विश्वको सर्वाधिक ठूलो स्थायी लडाकु विमानवाहक जहाज मानेको थियो । विमानले एकै पटकमा आन्ध्रमहासागर वारपार उडान गर्न सक्दैनथे । यसैले ग्रिनल्यान्ड र आइसल्यान्ड जस्ता स्थान प्राप्त गर्नु जरुरी भइसकेको थियो ।”
द्वितीय विश्वयुद्धको आरम्भमा डेनमार्कले आफूलाई तटस्थ राख्यो तर सन् १९४० मा जर्मनीले डेनमार्कमाथि आक्रमण गरी त्यसलाई नाजी नियन्त्रणमा लियो । ग्रिनल्यान्ड डेनमार्ककै अधीनमा रहेकाले अमेरिका के कुरामा सशङ्कित थियो भने जर्मनीले चाँडै नै ग्रिनल्यान्डमा हमला गर्ने छ । यदि यसो भयो भने नाजी जर्मनीले उत्तर अमेरिकी क्षेत्रमा कारबाहीका लागि ग्रिनल्यान्डमा आधार शिविर तयार पार्ने छ ।
डेनमार्कबाट ग्रिनल्यान्ड खरिद गर्नका लागि अमेरिकाले वैध रूपमा नजिकबाट प्रयास गरेको सन् १९४६ मा हो । द्वितीय विश्वयुद्ध समाप्त भएको लगत्तै अमेरिकाले ग्रिनल्यान्ड आफ्नो मातहतमा ल्याउन जोडबल गरेको थियो । युद्धकालमा मित्रराष्ट्रका १० हजारभन्दा बढी लडाकु विमानले जर्मनीमा बमवर्षा गर्नका लागि ग्रिनल्यान्डमा इन्धन पुनर्भरण गरेका थिए ।
सन् १९४१ मा अमेरिकाका विदेशमन्त्रीले वासिङ्टन डिसीमा रहेका डेनमार्कका राजदूतसँग ‘डिफेन्स अफ ग्रिनल्यान्ड’ सन्धिमा हस्ताक्षर गरे । यस सन्धि अन्तर्गत अब युद्ध अवधिमा ग्रिनल्यान्डको सुरक्षाको जिम्मेवारी अमेरिकाको हातमा गयो तथा सन्धिले ग्रिनल्यान्डमा आफ्ना विमान अवतरण र उडानको बन्दोबस्तीका लागि आवश्यक निर्माण गर्न पाउने अधिकार अमेरिकी सेनालाई प्रदान गर्यो ।
द्वितीय विश्वयुद्ध अवधिमा ग्रिनल्यान्ड एक यस्तो रणनीतिक सम्पत्ति सिद्ध भयो जसलाई अमेरिकी सरकारको शीर्ष तहले डेनमार्कबाट खरिद गर्न धेरै नै रुचि देखायो । सन् १९४६ मा युरोपका लागि विदेश विभागका दूत विलियम ट्रिम्बलले सम्पूर्ण ग्रिनल्यान्डका लागि डेनमार्कलाई १० करोड अमेरिकी डलरको सुन दिने प्रस्ताव राखे । अमेरिकाको यस्तो नगदी प्रस्तावले डेनमार्क स्तब्ध भयो र त्यहाँ हतासको वातावरण बन्यो । डोयलले लेखेका छन्, “यसरी क्षेत्रको मौद्रिक मूल्य तोकेर त्यसलाई आफ्नो अधीनमा ल्याउन सकिन्छ र डेनमार्क त्यसका लागि तयार हुने छ भन्ने अमेरिकी सोचाइले डेनमार्कमा भयको वातावरण तयार भयो ।”
डेनमार्कका विदेशमन्त्री गुस्ताभ रासमिसनले डेनमार्कमा रहेका अमेरिकी राजदूतलाई भने, “हामी अमेरिकीप्रति आभारी छौँ तर मलाई लाग्दैन सम्पूर्ण ग्रिनल्यान्ड टापुप्रति उनीहरूको ऋणी छौँ ।”
अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्धले ग्रिनल्यान्डलाई परमाणु शक्तिहरूबीचको भौगोलिक मध्यविन्दु बनाइदियो । जनरल एचएच ‘हाप’ अर्नोल्डले भनेका थिए, “यदि तेस्रो विश्वयुद्ध भयो भने त्यसको रणनीतिक केन्द्र उत्तरी ध्रुव हुने छ ।”
द्वितीय विश्वयुद्धपछि ग्रिनल्यान्डबाट बिदा हुनुको साटो अमेरिकाले सन् १९५१ मा डेनमार्कसँग यस्तो एक नयाँ सन्धि ग¥यो, जस अन्तर्गत अमेरिकी सेनालाई आर्कटिक कार्यसञ्चालनका लागि ग्रिनल्यान्डमा आफ्नो आधार शिविरको अधिकतम उपयोगको अधिकार प्राप्त भयो । ‘ब्ल्यु जे’ नामको गोप्य परियोजना अन्तर्गत अमेरिकाले ग्रिनल्यान्डको उत्तरपश्चिम तटीय भेगमा विशाल हवाई अड्डा बनाएको छ । सन् १९५१ देखि सन् १९५३ सम्म थुले वायु सैनिक अखडाको निर्माणलाई त्यसको जटिलता र कठिनाइका आधारमा पनामा नहरसँग तुलना गरिन्छ । यस परियोजनामा १२ हजार श्रमिक खटिए तथा तीन लाख टन जति मालसामान परिवहन गर्नु परेको थियो ।
शीतयुद्ध आफ्नो उत्कर्षमा रहँदा ग्रिनल्यान्डको थुले हवाई अखडामा १० हजार अमेरिकी सैनिक खटिएका थिए । सोभियत परमाणु खतराको अवस्थामा यस अखडाले द्रुत प्रतिकार्य गर्न सक्थ्यो किनभने अमेरिकी बमवर्षकहरू थुलेबाट उडान भरेर केही घण्टामै लेनिनग्राद र मास्को पुग्न सक्थे । अमेरिकाले ग्रिनल्यान्डको हिउँमुनि सैन्य अखडा निर्माणको प्रयोगसमेत गर्यो । जसको सुरुवात उसले थुले हवाई अखडाबाट २४१ किलोमिटर टाढा क्याम्प सेन्चुरी नामको चौकीबाट गर्यो ।
डोयलले भनेका छन्, “क्याम्प सेन्चुरी हिमपत्रमुनि परमाणु शक्तिले सञ्चालित एक शहर थियो । जहाँ प्रार्थनागृह, पुस्तकालय, भोजनगृह आदि सुविधा उपलब्ध थिए ।”
अझै बढी महìवाकाङ्क्षी योजना ‘प्रोजेक्ट आइसवर्म’ का लागि एक प्रमाणित अवधारणाका रूपमा क्याम्प सेच्युरी रह्यो । ‘प्रोजेक्ट आइसवर्म’ अन्तर्गत अमेरिकी सेनाले ग्रिनल्यान्डको हिमपत्रमुनि यस्तो रेलरोड सन्जाल बनाउन चाहेको थियो जसको सहायतामा सोभियत मुख्य भूमिसम्म पुग्न सक्ने गरी परमाणु क्षेप्यास्त्रलाई सजिलै ओसारपसार गर्न सकियोस् । ‘प्रोजेक्ट आइसवर्म’ कहिल्यै निर्माण सम्पन्न भएन ।
शीतयुद्ध आफ्नो उत्कर्षमा रहँदा ग्रिनल्यान्डको थुले हवाई अखडामा १० हजार अमेरिकी सैनिक खटिएका थिए ।
राष्ट्रपति ड्वेट आइजनआवरलाई रक्षामन्त्रीद्वारा संप्रेषित स्मृतिपत्र अनुसार सन् १९५५ को अन्त्यसम्म पनि पेन्टागनले ग्रिनल्यान्ड किन्न धेरै नै रुचि देखाएको स्पष्ट हुन्छ तर यसबारेमा कुनै आधिकारिक प्रस्ताव पेश गरिएन ।
डेनमार्कले सन् १९७९ मा ग्रिनल्यान्डलाई स्वशासन अधिकार प्रदान गरेको थियो । जसको अर्थ उसको रक्षा र विदेश मामिलामा डेनमार्कको संलग्नता रहने गरी ग्रिनल्यान्डले सम्प्रभु राष्ट्रका रूपमा अभ्यास गर्दछ । ग्रिनल्यान्डमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति कायम राखेको छ तर थुले हवाई अखडालाई सन् २०२० मा अमेरिकी अन्तरिक्ष बललाई हस्तान्तरण गरियो र हाल यसलाई ‘पिटोफिक स्पेस बेस’ भनिन्छ ।
– उमेश ओझाद्वारा हिस्ट्री च्यानलबाट अनुवादित तथा सम्पादित ।
–युवामञ्च