• १६ कात्तिक २०८२, आइतबार

आइखम्यानको लुकामारी

blog

कुख्यात होलोकोस्टका मुख्य योजनाकार एडोल्फ आइखम्यान द्वितीय विश्वयुद्धपछि भागेर दक्षिण अमेरिका पुगेका थिए । इजरायलको गुप्तचर सेवा चाहिँ उनलाई दुलोबाट निकालेर दण्डित गर्न प्रतिबद्ध थियो ।

“एकछिन पर्खनुस्, महोदय !”

इजरायली गुप्तचर अधिकारी पिटर माल्किन स्पेनी भाषाका यी तीन शब्द मात्रै जान्दथे तर यी शब्द इतिहासको मार्गचित्र परिवर्तन गर्नेवाला थिए ।

सन् १९६० मे ११ मा मर्सिडिज बेन्ज कम्पनीमा काम गरेर घर फर्किन लागेका एक तालुखुइले श्रमिकलाई माल्किनले यी शब्द भनेका थिए । जब ती व्यक्तिले माल्किनलाई चिन्न चाहेनन् उनले बेवास्ता गरी अगाडि बढ्न खोजे । अन्य तीन गुप्तचर एजेन्टको सहयोगमा माल्किनले ती व्यक्तिलाई भुईंमा पछारे, अनि एक कारमा हुले । गाडीमा हुइँकिँदै गर्दा उनीहरूले ती व्यक्तिलाई बाँधे र पछाडिको सिटमा एउटा कम्बलले ढाकिदिए । 

यो एक सामान्यखालको अपहरण थिएन । कारको पछाडिको सिटमा कम्बलले ढाकेर लडाइएका व्यक्ति विश्वको एक कुख्यात युद्ध अपराधी थिए– एडोल्फ आइखम्यान । आइखम्यान उनै नाजी अधिकारी हुन् जसले द्वितीय विश्वयुद्धमा ६० लाख यहुदीको सामूहिक हत्या गर्न जर्मनीलाई सघाएका थिए । वर्षौंसम्म उनी अधिकारीहरूबाट बचेर, झुक्याएर अर्जेन्टिनामा शान्तिपूर्वक बसोबास गरिरहे । अब उनी इजरायलको गुप्तचर संस्था मोसादको हिरासतमा थिए र कुनै बेला उनले गुपचुप गरेको भयङ्कर अपराध सार्वजनिक हुनेवाला थियो ।

आइखम्यानको गिरफ्तारी, पुछताछ र अदालती कारबाही इतिहासको सर्वाधिक महत्वाकाङ्क्षी गुप्त अभियानको एक हिस्सा थियो । ‘हन्टिङ इभिल : दी नाजी वार क्रिमनल्स हु इस्केप्ड एन्ड दी क्वेस्ट टु ब्रिङ देम जस्टिस’ का लेखक गे वाल्टरले उल्लेख गरेका छन्, “पक्रने काइदा अद्वितीय थियो । यो कुनै चलचित्रको यस्तो कथावस्तु जस्तो छ जो वास्तविक जीवनमा आइपर्ने घटनासँग मेल खान्छ । यसले विश्वलाई होलोकोेस्टप्रति जागृत गरिदियो ।” तर यो जागरण र आइखम्यानको गिरफ्तारी दशकौँको प्रयासबाट सार्थक भयो । 

जब सन् १९३२ मा आइखम्यान सर्वप्रथम अस्ट्रियाको नाजी पार्टीमा आबद्ध भए सायदै कसैले सोचेका होलान् आइखम्यान भावी आमसंहारक हुने छन् तर आइखम्यान एक कुशल प्रशासक र प्रतिबद्ध यहुदी विरोधी दुवै थिए । पार्टीको उच्च दर्जामा पुग्न उनलाई धेरै समय लागेन र सन् १९३५ सम्म उनी तथाकथित ‘यहुदी प्रश्न’ को जवाफ दिन पार्टीको योजनामा सहयोग गर्न थालिसकेका थिए । युरोपेली यहुदीसँग कस्तो व्यवहार गर्ने सम्बन्धमा हुने बहसमा प्रयुक्त हुने यो एक नाजी शब्दावली थियो ।

यद्यपि आइखम्यानले पछि आफूले आदेश पालना मात्र गरेको दाबी गरे पनि उनले जनसंहारको बन्दोबस्तीमा नाजीलाई सक्दो सहयोग गरेका थिए । उच्च पदस्थ नाजी अधिकारीको एक समूह सहभागी  ‘अन्तिम उपाय’ भनिएको योजनाको विस्तृत समन्वयात्मक बैठकमा उनले भाग लिए । जसलाई इतिहासमा वानसी सम्मेलन भनिएको छ । आइखम्यानले त्यहाँ निर्णय नलिएको भए पनि उनले सम्मेलनमा भए गरेका कुराको विवरण राखे तथा युरोपमा यहुदी जनसंहार गर्ने विधि निर्धारण सम्बन्धमा उच्च पदस्थ अधिकारीका लागि तथ्याङ्क तयार गर्ने काम चाहिँ उनले गरे । सम्मेलनपछि आइखम्यानले नरसंहार कार्यान्वयनमा ल्याउन सहयोग गरे तथा जर्मनीको कब्जामा रहेका क्षेत्रबाट हजारौँ यहुदीलाई देशान्तरण गर्ने र हत्या गर्ने कार्यमा समन्वयसमेत गरेका थिए ।

होलोकोस्टका कैयौँ सूत्राधार पक्राउ गरिए, न्युरेम्बर्गमा उनीहरूमाथि मुद्दा चलाइयो र युद्धपछि उनीहरूलाई मृत्युदण्ड दिइयो तर आइखम्यान न्यायबाट उम्किए । युद्ध सकिएपछि अमेरिकी अधिकारीहरूले उनलाई पक्राउ गरेका पनि थिए तर उनी आफ्नो पहिचान लुकाएर बच्न सफल भए । युद्धोत्तर युरोपमा यात्रा गर्दा उनले पटक पटक आफ्नो पहिचान फेरे । इटालीमा नाजीप्रति सहानुभूति राख्ने क्याथोलिक पादरी र विसपद्वारा आइखम्यानलाई सहयोग मिल्यो तथा लुक्दैछिप्दै उनी सन् १९५० मा अर्जेन्टिनाको राजधानी ब्युनसआयर्स पुगे । 

अर्जेन्टिनमा आइखम्यानले नयाँ पहिचान पाए, रिकार्डो क्लेमेन्ट । उनी त्यहाँ एक श्रमिक थिए । चाँडै आइखम्यानको परिवार पनि अर्जेन्टिना आइपुग्यो । उनले त्यहाँ फरक फरक खालका काम गरेर आफ्नो जीवनयापन गर्ने प्रयास गरेर तथा अपेक्षाकृत शान्त जीवन जिउन थाले तर दक्षिण अमेरिकी देश अर्जेन्टिनामा आइखम्यान मात्र एक्ला नाजी थिएनन् र उनले आफ्नो विगतलाई गोप्य राखेनन् । युरोपबाट भागेर आएका अन्य नाजीसँग आइखम्यानले सामाजिक सम्बन्ध बनाए तथा कतिसम्म भने नाजी समर्थित एक पत्रकारसँगको विस्तृत अन्तर्वार्तामा उनले युरोपका सबै यहुदीलाई नमारेर आफूले ठुलो गल्ती गरेकोसम्मको कुरा गरे ।

अर्जेन्टिनामा आइखम्यानका गतिविधिको चर्चा अमेरिका, युरोप र इजरायलमा हुन थाल्यो । यद्यपि पश्चिम जर्मनी र अमेरिकी गुप्तचर एजेन्सीलाई  आइखम्यानका बारेमा जानकारी मिलेको भए पनि तिनीहरूले आवश्यक कदम चालेका थिएनन् । वाल्टरले लेखेका छन्, “नाजीको खोजी गर्नु अमेरिकी जिम्मेवारी थिएन ।” 

तर विश्वमा एक यस्तो नयाँ देश थियो जो आइखम्यानलाई पक्राउ गर्न धेरै नै चासो दिइरहेको थियो । डखाउमा कैद भएपछि अर्जेन्टिना भाग्न सफल दृष्टिविहीन यहुदी लोथर हर्मानको कृपाले इजरायली आइखम्यान बसेको ठेगाना पत्ता लगाउन सफल भए र इतिहासको सर्वाधिक महत्वाकाङ्क्षी गिरफ्तारी योजना बनाउन सुरु गरियो । जब हर्मानले त्यतिबेला आइखम्यानको छोरासँग प्रेम सम्बन्धमा रहेकी आफ्नी छोरी सिल्भियाका माध्यमबाट आइखम्यान अर्जेन्टिनामा रहेको थाहा पाए, उनले जर्मनीलाई त्यसको जानकारी दिएका थिए ।

जर्मन–यहुदी न्यायाधीश फ्रित्ज बावरले यस बारेमा थप जानकारी माग गरे । अनि सिल्भियाको सहयोगमा हर्मानले आइखम्यानको सटिक ठेगाना उपलब्ध गराइदिए । जर्मनीको कुनै पनि अनुसन्धानमा नाजीप्रति सहानुभूति राख्नेले आइखम्यानलाई सचेत पारिने सम्भावना देखेर बावरले गोप्य रूपमा इजरायली गुप्तचर संस्था  मोसादलाई यसको जानकारी दिए । आइखम्यानलाई अपहरण गरेर ल्याउन मोसादले एक ‘स्न्याच टिम’ गठन ग¥यो । त्यसमा अधिकांश सदस्य ती व्यक्ति थिए जसले होलोकोस्टमा आफ्नो परिवारका सबै सदस्य गुमाएका थिए ।

गठित टोलीको जिम्मेवारी आइखम्यानलाई नियन्त्रणमा लिनु मात्र थिएन, विगतमा गरेको अक्षम्य अपराधका लागि सार्वजनिक रूपमा उनीमाथि मुद्दा चलाउन साथै लिएर इजरायल फर्कनु पनि थियो ।

योजना धेरै सामान्य थियो । अर्जेन्टिनामा जसै मोसादको टोलीले आइखम्यानमाथि नजर राख्न सुरु ग¥यो उनको दैनिकी अनुमानित भएको गुप्तचरले विश्लेषण गरे । अर्थात् आइखम्यानको दिनचर्या करिब एकनासको थियो । त्यसपछि काम सकेर घर फर्किन नगर बसबाट ओर्लेपछि उनलाई नियन्त्रणमा लिने योजना गुप्तचर टोलीले बनायो ।

सन् १९६० मे ११ मा आइखम्यानलाई अपहरण गर्न मोसाद टोलीले सावधानीपूर्वक बनाएको योजना त्यतिबेला झन्डै असफल हुने अवस्थामा पुग्यो जब अनुमानित समयमा उनी बसबाट ओर्लेनन् । यद्यपि आधा घण्टापछि आइखम्यान अर्को बसबाट ओर्लिए । माल्किन र उनका साथीले अँध्यारो बाटोमा आइखम्यानलाई पछ्याउन थाले र बाटो छेके । 

आइखम्यानलाई अपहरण गरेर मोसादको टोलीले ब्युनसआयर्सको एक सुरक्षित घरमा लगेर राख्यो । कैयौँ दिनसम्म उनीसँग त्यहाँ सोधपुछ गरियो । त्यसपछि आइखम्यानलाई नसामा लट्याएर विमानमा राखी इजरायल ल्याइयो ।   

त्यसपछि जुन मुद्दा चल्यो त्यो टेलिभिजनबाट प्रसारण गरिएको सकभर पहिलो मुद्दा भयो । आफ्नो भावनात्मक साक्ष्य तथा पहिलो पटक व्यक्तिगत रूपमा होलोकोस्टको वास्तविक बयान सुनेर विश्वका लाखौँ मानिस मन्त्रमुग्ध भए । 

मुद्दा सुनुवाइका क्रममा आइखम्यानले मात्र आदेशको पालना गर्ने एक कर्मचारीको जुन छदम रूप अर्जेन्टिनामा कायम राखेका थिए त्यही देखाउने कोसिस गरे । उनको यस्तो छवि देखेर राजनीतिक सिद्धान्तकार हान्ना अरेन्डटले ‘बनेलिटी अफ इभिल’ शब्दावली प्रचलनमा ल्याएर आइखम्यान मात्र एक मनोरोगी नभएर सामान्य मानिससमेत भएको विश्लेषण गरिन् । 

यस विषयमा वाल्टरले लेखेका छन्, “वास्तवमा आइखम्यान एक कट्टर जोशिला नाजी थिए । उनी सकभर बढीभन्दा बढी यहुदीलाई मार्ने कार्य र कोसिसमा आफ्नो योगदानले धेरै नै खुसी थिए । उनी मात्र एक सामान्य अधिकारी थिएनन् ।” 

यद्यपि सुनुवाइको अन्त्यसम्म होलोकोस्टमा आफू जिम्मेवार नरहेको जिकिर गरिरहे पनि एडोल्फ आइखम्यानलाई विशेष अदालतले दोषी ठह¥यायो । सन् १९६२ मे ३१ मा आइखम्यानलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो । 


कलङ्क हो होलोकोस्ट 

नाजी शासन र उसका सहयोगीद्वारा द्वितीय विश्वयुद्धमा गरिएको करिब ६० लाख यहुदीको जनसंहारसँग होलोकोस्ट शब्दावलीको सम्बन्ध छ । होलोकोस्टलाई ‘सोह’ पनि भनिन्छ । जसको अर्थ हिब्रु भाषामा विनाश हुन्छ । 

सन् १९३९ देखि सन् १९४५ सम्म नाजीले युरोपमा यहुदी समुदायलाई पूर्ण विनाश गर्ने कोसिस गरेको थियो । आइन्जासग्रुपेन भनिने हत्यारा कार्यदलद्वारा वा सामूहिक विनाश गरिने शिविरमा लगेर यहुदीको हत्या गरिन्थ्यो । 


युरोपमा रहेका एक करोड १० लाख यहुदीमध्ये ६० लाख यहुदीको हत्या त्यस अवधिमा गरियो । मुख्य गरी पूर्वी युरोपका पोल्यान्ड र युक्रेनको अधिकृत क्षेत्रमा होलोकोस्ट मच्चाइएको थियो । होलोकोस्टमा यहुदीको मात्र होइन नाजीद्वारा युरोपेली रोमाहरूको पनि हत्या गरियो । नाजीद्वारा करिब पाँच लाख रोमा र सिन्ठी मारिएका थिए । 

यस्तै नाजीले अपाङ्गता भएका, सोभियत युद्धबन्दी तथा सोभियत र पोल्यान्डका नागरिकको समेत जनसंहार गरेका थिए । समलिङ्गी पुरुष, समाजवादी विचारधारा भएका, वामपन्थी विचारधारा भएका, ट्रेड युनियनवालासँग पनि नाजीले कडा व्यवहार देखाउँदै जेल र शिविरमा कैद गरे । ती अधिकांशको भोकमरी र बिरामीले त्यहीँ मृत्यु भएको थियो । 

–उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित तथा सम्पादित  

–युवामञ्च

Author
उमेश ओझा

उहाँ युवामञ्चको सम्पादक हुनुहुन्छ ।