वासुलिङ समाचारदाता
वासुलिङ (बैतडी), चैत ८ गते । बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यो वर्षको एसइईको पहिलो दिन नियमिततर्फका ७१ प्राविधिक धारतर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १२४ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले बताउनुभयो ।
परीक्षा फाराम भरेका तर परीक्षामा उपस्थित नभएका विद्यार्थीको सङ्ख्या १२४ जना रहेको एकाइ प्रमुख भट्टले बताउनुभयो । विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरू, बिहे गरेका वा हाजिर नपुगेकाहरू अनुपस्थित भएका हुन सक्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ । जिल्लामा पाँच हजार ३६२ विद्यार्थीले फाराम भरेका थिए ।
उनन्चालिस जना अनुस्थित
अमरगढी समाचारदाताका अनुसार डडेलधुरामा बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३९ जना परीक्षार्थी अनुपस्थित रहेका छन् ।
दुई हजार ६१४ विद्यार्थीमध्ये पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा साधारण, ग्रेडवृद्धि र प्राविधिकतर्फ गरी ३९ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख खड्कबहादुर महताले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी ग्रेडवृद्धितर्फ २३ जना परीक्षार्थी अनुपस्थित हुनुभएको छ । यसै गरी साधारणतर्फ १५ जना परीक्षार्थी अनुपस्थित रहनुभएको छ । प्राविधिक धारतर्फ भने एक जना छात्र अनुपस्थित रहनुभएको छ । डडेलधुरामा यस वर्षको एसइईमा साधारण विषयतर्फ एक हजार ९८६, ग्रेडवृद्धितर्फ ४४३ र प्राविधिक धारतर्फ १४६ विद्यार्थी परीक्षामा उपस्थित रहेका छन् । डडेलधुरामा ११ वटा परीक्षा केन्द्रबाट एसइई भइरहेको छ ।