चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग गरियो तर साँच्चै त्यो कस्तो हुन्छ भन्ने चाहिँ यसपालि ज्ञानेन्द्र शाहको हरकतपछि अनुभव हुँदै छ । राजाको नातिका रूपमा जन्मेका र काकतालीले भने पनि अपुतालीले भने पनि दुई/दुई पटक राजा भएका ज्ञानेन्द्रलाई यही जुनीमा फेरि राजा हुन पाइन्छ कि भन्ने लोभ र आशा लाग्नु कुनै अनौठो कुरा होइन । यसै पनि हामीकहाँ पाँच जना भूपू प्रधानमन्त्री फेरि प्रधानमन्त्री हुन जोरजुलुम गरेर लागिरहेका छन् भने भूपू राजाले मात्र त्यस्तो दिवास्वप्न नदेख्नु असम्भव नै हुन जान्छ । हालै सडकमा पोखिएको राजावादीको अश्लील हल्लापछि नै हो : चियाको कपमा उठेको तुफानले फैलाएको दुर्गन्ध काठमाडौँको आकाशमा फैलिएर ह्वास्स गन्हाएको । यो आलेखमा किन राजतन्त्र इतिहासको कुरा हो र हुनु पर्छ भन्ने विषयमा केही निजी अनुभवसहित चर्चा गरिने छ ।
झुटो इतिहास
...तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास...। –भूपि शेरचन
२०२८ सालतिरको कुरा हो । मेरा माइला मामा तीर्थराज घिमिरे अघिल्लो दिन मात्र मकैखोला आउनु भएको थियो । उहाँ त्यतिबेला चिसङ्कुको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँ आएपछि गाउँका काका र दाइहरू गफिन आइपुग्नुहुन्थ्यो । म पिँढीमा बसेर पढिरहेको थिएँ । चर्को स्वरमा नपढी म पढेको सम्झिन्नथेँ । एउटा पाठ थियो राजा त्रिभुवनका विषयमा । उनलाई नेपालमा प्रजातन्त्र ल्याएको भन्दै प्रजातन्त्रका पिताको पगरी पनि गुथाइएको थियो । मलाई रोक्दै मामाले भन्नुभयो, “यता सुन भान्जा । यो पुस्तकमा लेखेको कुरा वाहियात हो । प्रजातन्त्र पनि राजाले दिन्छ कतै ? यो त कांग्रेसले लडेर राणाहरूसँग खोसेर ल्याएको हो । बरु नेहरूले भागेर दिल्ली गएको राजालाई नेपालको गद्दिमा फर्काउन धेरै दबाब दिएपछि कांग्रेसले मान्दिएको हो । पछि उनका छोरा महेन्द्रले प्रजातन्त्र खोसेर पञ्चायत थोपर्यो । यस्तो झुटो इतिहास पढाउँछन् र हाम्रा केटाकेटीलाई बिगार्छन् ।” मामाले त्यस दिन चार सहिदको प्रसङ्ग, गणेशमान कसरी भागेर भारत पुगे, सातसालमा कसरी क्रान्ति भयो जस्ता अनेक कुरा सुनाउनु भएको थियो । उपस्थितमध्ये एक जना हाम्रो गाउँ सैमराङ गाउँ पञ्चायतका उपप्रधानपञ्च पद्मध्वोज क्षेत्री पनि हुनुहुन्थ्यो । मामा सात सालदेखिका कांग्रेस कार्यकर्ता र २०१७ मा पहिले भूमिगत भएर र पछि निर्वासनमा गएर जेल पर्नबाट जोगिएका मध्येका हुनुहुँदो रहेछ । यो कुरा चाहिँ मैले पछि मात्र थाहा पाएँ ।
२०३५ सालमा मैले पहिलो पटक असहमतिको राजनीतिक गतिविधि नियाल्ने मौका पाएको थिएँ । बिपी कोइराला देश भ्रमणको सिलसिलामा पोखरा आउँदै हुनुहुन्थ्यो । हामी पनि क्याम्पसबाट बिपीलाई हेर्न र पञ्च र प्रशासनले के कस्तो गर्छ भनेर बुझ्न एयरपोर्ट पुगेका थियौँ । एयरपोर्टमा जुन दृश्य देखियो त्यो भयानक थियो । मण्डलेहरू बिपीको स्वागतमा आएका कांग्रेस कार्यकर्तालाई समात्ने रगतपच्छे हुने गरी पिट्ने र प्रहरीलाई बुझाउने गरिरहेका थिए । मैले चिनेका कांग्रेसी नेता कार्यकर्ता पनि नाक मुखबाट रगत बगाउँदै प्रहरीको गाडीमा लगिए । जहाज एयरपोर्टमा आउने र ल्यान्ड गर्ने समयमा पञ्चहरू एयरपोर्टभित्र छिरेर कब्जा गरे । बिपी आइरहेको प्लेन आकाशमा तीन चक्कर लगाएर फर्केको थियो । कसरी राजाले निरङ्कुश शासन चलाउँथे भन्ने प्रत्यक्ष अनुभव गरेको यही समयमा हो । यसैसँग अहिले ज्ञानेन्द्रको स्वागतमा भएको चुरीफुरीलाई तुलना गर्दा पनि राजाले चलाउने अधिनायकवादी व्यवस्था र गणतन्त्रमा नागरिक अधिकारको अवस्था कस्तो हुन्छ भन्ने थाहा भइहाल्छ । मलाई लाग्छ विद्यालयको इतिहासको पाठमा अहिले पनि यस्ता कुरा समावेश छैनन् । त्यसको केही दिनपछि यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई राजासँग भेट गराउन भन्दै (पत्रकार भैरव रिसालका अनुसार) जेलबाट हेटौँडा लगेर रुखमा बाँधेर हत्या गरियो । हाम्रो क्याम्पसका केही कांग्रेस समर्थक युवाले त्यसको विरोधमा एक दिन कक्षा बहिस्कार गरे ।
त्यो घटनाको केही दिनअघि मेरो कक्षाको सहपाठी मित्र पुष्पकमल सुवेदी एउटा रुमाल जत्रो आकारको कम्युनिस्ट पार्टीको झन्डा लिएर हाम्रो डेरामा आइपुगेका थिए । उसले झन्डाको बारेमा त बतायो नै सँगै पुष्पलाल श्रेष्ठको बारेमा पनि धेरै कुरा बतायो (यो प्रसङ्गलाई मैले आफ्नो उपन्यास आधा जूनमा थोरै फिक्सनलाइज गरेर विस्तारमा चर्चा गरेको छु) । कमरेड पुष्पलाल त्यही वर्ष साउन पहिलो साता दिल्लीमा उपचार गर्ने क्रममा बित्नुभएको रहेछ । उहाँ १९९७ सालका सहिद गङ्गालालका भाइ तथा नेपालको कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्थ्यो । देशमा पञ्चायती व्यवस्था लागु गरेर राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाएपछि निर्वासनमा गएका पुष्पलाल श्रेष्ठको निधनपछि उहाँको शव काठमाडौँ ल्याउने प्रयास भएको रहेछ तर सरकारले अनुमति दिएनछ । उहाँको अस्तु मात्र काठमाडौँ ल्याउने र बागमतीमा विसर्जन गर्ने गरी पार्टीका युवा नेताले प्रयास गरेका थिए तर उनीहरूलाई पनि पक्राउ गरिएछ । यसरी एक जना शीर्ष राजनीतिक व्यक्तित्वलाई मृत्युपछि पनि निषेध गर्ने राजाको शासनको निरङ्कुश चरित्र राम्रोसँग अहिले पनि विद्यालयको पाठ्यक्रममा सोही सघनताका साथ समावेश भएको जस्तो पनि मलाई लाग्दैन । त्रिभुवन आफैँले चार जना युवालाई फासी दिने निर्णयमा निसान छाप हानेको कुरा बिर्साएर प्रजातन्त्रका पिता भन्ने इतिहास लेख्नेहरूले अहिले राजाको गीत गाउँदै हिँडेकोमा आश्चर्य मान्नुपर्ने पनि केही भएन ।
१५ वर्ष पूरा भएर १६ औँ वर्षमा हिँड्दै गर्दा पहिलो पटक राजनीतिक जुलुसमा सहभागी हुँदा खाएको लाठीका चोटहरू र त्यसको छानबिनका लागि गठित सिंह आयोगको झुटमुट मनमा पोको पारेर म राजतन्त्रविरोधी राजनीतिको यात्रामा निस्केको थिएँ । विद्यालय र कलेजमा नपढाइएको इतिहास पढ्दै जाने अवसर मिल्दा पो थाहा भयो २०१८ सालमा कांग्रेसीहरूमाथि भएको दमन, २०२९ साल फागुन २१ गते सुखानीमा पाँच जना युवा कम्युनिस्ट कार्यकर्ता (रामनाथ, नेत्र, विरेन, नारायण, कृष्ण) लाई जेल सार्ने निहुँमा लगेर गरिएको हत्या । पञ्चायती शासकका कठोर यातना खाएर लामो समय जेलमा बसिरहेका, बस्दै छुट्दै गरेकाका कथा । भूमिगत भएर र प्रवासमा निर्वासित भएर पनि निरङ्कुशताका विरुद्ध लडिरहेका अनेक योद्धाका कहानी र दरबारले देशको स्रोत र साधनमाथि गरिरहेको दोहन र नियन्त्रणका अनेक सन्दर्भ । कसरी देश हरिकङ्गाल बनाइँदै छ भन्ने थाहा पाउन पनि मैले पढ्ने नेपाली अर्थशास्त्रको पाठ्यक्रममा केही विषय समेटिएको थिएन ।
राजा र उनको परिवारले बाहेक अरूले राज्यको ढुकुटीमा लामो हात गर्न पाउँदैनथे, जे जति दोहन हुन्थ्यो त्यो सिधा दरबारबाट हुन्थ्यो । तस्करी र वन फँडानीको हिस्सासमेत दरबारमै जान्थ्यो । अहिलेको राजनीतिक नेतृत्व जस्तै आसेपासेलाई पोस्ने र हिस्सा खाने काममा पनि दरबार सिधै संलग्न हुन्थ्यो ।
त्यसको केही समयपछि नै पोखरामा नमिता सुनिता हत्याकाण्ड भयो । त्यसको अघिपछिका घटनाले देखाउँछन् कसरी दरबारीयाहरू आफ्नो हवसको सिकार बनाएर किशोरीको बलात्कार र हत्या गर्थे । त्यो काण्डका दोषी केही त मरेर गए तर केही सुकिला मान्छे अझै पनि हाम्रो वरपर होलान्, जसलाई दरबारले बचाएको थियो ।
राजतन्त्रको फासिस्ट शासन शैलीसँग मेरो एउटा जम्काभेट २०४६ चैतमा भयो आजभन्दा ठ्याक्कै ३५ वर्ष अगाडि । हामी गिरफ्तार हुनुअगाडि नै लक्ष्मी कार्कीमाथि भएको दमनको चर्चा देशभर फैलिइसकेको थियो । आन्दोलनको तयारीकै क्रममा हामीलाई पक्राउ गरेर हत्कडी र नेलसहित कष्टडीमा राखियो । केही दिन त मसँगै रवीन्द्र अधिकारीलाई पनि एउटै हत्कडीले बाँधिएको थियो । एक जना इन्सपेक्टर थिए बर्तौला थरका । मलाई केरकार गर्ने कोठामा बोलायो । अपमानपूर्वक उभ्यायो र कञ्चटमा पेस्तोल राखेर पार्टीको सञ्जाल र नेताहरूका बारेमा सोध्यो । हामी पक्राउ परेपछिका घटनाबारे हामीबाट उत्तर खोज्दै थियो । मलाई मारेर सेतीमा फाल्ने धम्की दिँदै थियो । एक घण्टा उभ्याएर पनि कुरा केही नपाएपछि छाडेको थियो । त्यसको एक महिना नहुँदै कास्की जिल्ला अदालतमा हामी जेल परेपछि बाहिर भएको एउटा घटनालाई लिएर सरकारी वकिल हामीलाई नै फाँसीको माग गरेर बहस गर्दै थियो । ती सरकारी वकिलको नाम त म सम्झन्न तर हाम्रो पक्षबाट बहस गर्नेमा एक जना गोविन्द पौडेल सर हुनुहुन्थ्यो अर्को रजितभक्त प्रधानाङ्गले बहस गरे झैँ लाग्छ । त्यति बेला फाँसीमा चढ्नु नपरेका रवीन्द्र अधिकारीले तत्कालीन कुमार पारस शाहले गरेको प्रवीण गुरुङको हत्याका विरुद्ध ठुलो आन्दोलन चलाउनुभएको थियो । नाम नखुलेको कालो पदार्थ सेवन गरेर आफ्नै मातापिता र भाइबहिनीसहित परिवारजनको हत्या गर्ने गरी कसरी छोरा हुर्काइन्थे दरबारमा भन्ने प्रमाणित भएको धेरै वर्ष भएको पनि छैन र कालो पदार्थको सेवन सामान्य थियो भन्ने कुरा अहिले पूर्व भएका युवराज पारसको पछिल्लो दशा हेर्दा पनि थाहा हुन्छ ।
यो राजतन्त्र कसरी शासन गथ्र्यो भन्ने निकट विगतको इतिहास हो । अहिले केही मान्छे राजाको शासनलाई स्वर्ण युग भन्दै मान्छे बराल्न खोज्दै छन् । जनमतमा तिनको विश्वसनीयताको हावा खुस्केको कुरा त हिजो अस्ति क्याम्पसमा भएको चुनाव र मङ्सिरमा भएको उपचुनावमा राजावादीले ल्याएको मतले पनि देखाउँछ तर सडकमा जुन तमासा छ र त्यसबाट राजनीतिक दल जसरी झस्केका छन् त्यो भने चिन्ताको विषय हो । राजतन्त्र सामन्तवादको ऐतिहासिक उपज थियो । पुँजीवादको विकाससँगै यसको ऐतिहासिक भूमिका पनि समाप्त भइसक्यो । अब मरेको राजतन्त्र ब्युँताउने भनेर जो जो भन्दै छन् तिनलाई थाहा हुनु पर्छ मरेको लासमा प्राण भर्ने कुनै पनि जादुमयी उपाय अहिलेसम्म मान्छेले पत्तो लगाएको छैन ।
हल्लाको कार्यकारण सम्बन्ध
२०६२ को भदौ महिनाको आखिरीतिर नयाँ बानेश्वरमा लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका तर्फबाट एउटा सडक सभा आयोजना गरिएको थियो । डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र सङ्ग्रौला, कृष्ण खनाल, कृष्ण पहाडीहरू त्यसका अगुवा मानिन्थे । ज्ञानेन्द्रको निरङ्कुश शासनविरुद्ध सात दलको नेतृत्व पनि आन्दोलनमा त थियो तर मान्छेहरू पत्याउन्नथे । उक्त सभाको महत्वपूर्ण दृश्य : पूर्वप्रम गिरिजाप्रसाद कोइरालासमेत नेताहरू भुइँमा बसेर मञ्चतिर फर्किनुभएको थियो र नागरिक समाजका प्रतिनिधि भाषण गरिरहनुभएको थियो । कोइरालासमेत नेताहरूको त्यो बसाइ आफैँमा एउटा आत्मआलोचना थियो र भविष्यमा आफूहरू ‘सप्रिने’ अर्थात् २०४८ देखि २०५९ सम्म चलाएको भ्रष्ट र बदनाम दलतन्त्र र नेतातन्त्र नदोहो¥याउने कसम पनि थियो । त्यो माफीलाई जनताले स्वीकार गरिदिएका थिए, जसको बलमा ज्ञानेन्द्रको सत्ता मात्र होइन राजशाही नै सदाका लागि बिदा गरिएको थियो । तर विगत १८ वर्षको शासन शैली हेर्दा अनेक सुधार र संरचनागत परिवर्तनका बावजुद हाम्रो नेतृत्ववर्ग २०४८/५९ साल कै लयमा फर्केर जनतालाई तिरस्कार गर्ने, राज्यदोहन गर्दै आसेपासे पोस्ने र लोकतान्त्रिक संरचना र संस्थाहरू कमजोर बनाउने बाटोमा लाग्यो । यसको प्रतिफल होला अहिले मुख्य राजनीतिक दलहरू आफ्नै छाया तर्सेर चिहानबाट राजतन्त्र ब्युँतने भयबाट ग्रस्त देखिन्छन् । न इतिहासमा राम्रो गरेको न अहिले ब्युँतने सम्भावना रहेको ज्ञानेन्द्रको शासन गर्ने रहर राजनीतिक दल आफैँले बनाइदिएको कुवाको धमिलो पानी जस्तो हो, जहाँ भ्यागुता मात्र खेल्छन् । नेतृत्वले यसको उपचार सडकमा जुलुस या वक्तब्यबाजी र गालीगलौज गरेर गर्न सक्दैन । नेतृत्वले आफूलाई समयानुकूल सुधार, सुशासन सुनिश्चित गरौँ । ज्ञानेन्द्रको भूत आफैँ कुलेलम ठोक्छ । लोकतन्त्रको विकल्प थप लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र हो । बाँकी सबै चियाको कपमा उठाइएका तुफान ।