धर्बेन्द्र झा
धनुषा,चैत ७ गते। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले अपाङ्गता भएका व्यक्तिलाई जीवनयापनमा सजताका लागि आत्मनिर्भर बनाउनु पर्ने आजको आवश्यकता भएको बताउनु भएको छ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले युरोपियन यूनियन र युनिसेफको सहयोग र लाइफ नेपालको समन्वयमा बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको अपाङ्गता सम्बन्धी विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले अपाङ्गता सहितका विभिन्न विषयलाई समेटेर प्रदेश सरकारले एकीकृतरुपमा समाज कल्याण ऐन ल्याउन लागेको जानकारी गराउनुभयो।
कार्यक्रममा महिला बालबालिका तथा समाजिक न्याय समितिका मधेश प्रदेशका सभापति रुपा यादवले अपाङ्गता भएकाको अधिकार सुनिश्चितताको लागि आफूहरुले प्रदेश सरकारलाई दबाब दिने बताउनुभयो।कार्यक्रममा युनिसेफका अपाङ्गता समन्वय अधिकृत जमुना सुवेदीले समाजमा अहिले पनि अपाङ्गता भएकालाई हेर्ने दृष्टीकोणले पनि अपाङ्गता भएका व्यक्ति समस्यामा पर्ने गरेको बताउनुभयो।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष किरण पासवानले समाजमा निर्मित भौतिक संरचनाहरु अपाङ्ग मैत्री हुनुपर्नेमा जोड दिनुभयो।खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव चुडामणि फुयालको अध्यक्षतामा भएको कार्यक्रमम लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका उपसचिव देव कुमारी खत्री सहितकाले बोल्नु भएको थियो।