• ८ चैत २०८१, शुक्रबार

नो केबलकार समूहका १८ जना धरौटीमा रिहा

blog

बिहीबार रिहा भएका नो केबलकार पक्षधर कार्यकर्ता। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ७ गते। ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन्। केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार उनीहरु धरौटीमा रिहाई भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका १८ जना सबैलले जनही २० हजार रपियाँका दरले घरौटी रकम बुझाएर रिहा भएका हुन्। बिहीबार रिहा हुनेहरु पाथीभरा केबलकार विरोधका क्रममा गत फागुन ८ गते पाथीभरा क्षेत्रको काफ्लेपाटी र १० गते सदरमुकाम फुङ्लिङमा गरिएको प्रदर्शनमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ परेका थिए। 

गत फागुन १० र १२ गते पक्राउ परेकाहरुलाई जिल्ला अदालतको थुनछेक बहसपछि भएको आदेशअनुसार धरौटीमा रिहा गरिएको प्ररही निरीक्षक बस्नेतले जानकारी दिनुभयो। रिहाइ हुनेमा पाँचजना महिला र अन्य पुरुष रहेका छन्। यस्तै पक्राउ पर्नेहरु केही ताप्लेजुङका र अधिकांस सुनसरी, झापा, पाँचथर र मोरङका रहेका थिए। 

यता नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले केबलकारविरुद्ध आन्दोलनलाई निरन्तरता दिँदै वार्तामार्फत समाधान खोज्न वार्तामा पनि बस्दै आएका छन्। सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण समितिबिच पटक पटक वार्ता भइसकेको छ भने बिहीबार मात्र नो केबलकार पक्षले खगेन्द्र फेम्बो संयोजक रहेको उच्चस्तरीय वार्ता समिति गठन गरेको छ।


नो केबलकार पक्षले पाथीभरा क्षेत्रमा गरेको प्रदर्शन।