गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । ‘निक साइमन्स अवार्ड’ २०२४ बाट जनस्वास्थ्य निरीक्षक रविन थापा सम्मानित हुनुभएको छ । धादिङको ज्वालामुखी गाउँपालिका ढोला स्वास्थ्य चौकीमा कार्यरत थापालाई देशभरबाट छनोट भएका २५ जना प्रतिस्पर्धीमध्येबाट छनोट गरिएको हो । जनस्वास्थ्य निरीक्षक थापालाई स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गर्नुभएको हो ।
जनस्वास्थ्य निरीक्षक थापाले ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै उहाँलाई अवार्डबाट सम्मानित गरिएको हो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्यालले २५ जनाले आवेदन दिएकोमा अन्तिममा १७ जनाको आवेदन मात्रै छनोट गरिएको जानकारी दिनुभयो । उहाँले अवार्डका लागि नाम छनोट समितिले पाँच जनालाई उत्कृष्ट पाँचमा छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।