भक्तिविपलास पोखरेल
गाईघाट, चैत ६ गते । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले विकास निर्माणका कुनैपनि योजनाहरु पहुँचका आधारमा नभएर आवश्यक्ताका आधारमा निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
सो कुरा उपाध्यक्ष डा.अधिकारीले उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित मोगिढामा बुधवार सञ्चालन गरिएको कोशी प्रदेशको आयोजना छनौट तथा योजना बैंक सम्बन्धी अभिमुखिकरण र प्रदेश सतरीय एक दिवसिय आयोजना तर्जुमा कार्यक्रमका अवसरमा बताउनुभएको हो ।
प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प्रदेश स्तरीय योजना सञ्चालनमा प्रदेश सरकारको नीति सम्बन्धि जानकारी गराउने तथा कार्यान्वयनयोग्य र प्राथमिक्ता प्राप्त प्रदेशस्तरीय योजनाहरु सङ्कलन गर्ने मुख्य उद्धेश्य रहेको सो कार्यक्रममा उपाध्यक्ष डा.अधिकारीले संघ, प्रदेश र स्थानीय तहहरुबाट सञ्चालन गरिने कुनैपनि योजनाहरु एक आपसमा नदोहोरिने किसिमका हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशको दोश्रो आवधिक योजना २०८१-०८२ देखि २०८५-०८६ सम्मको लक्ष उद्येश्य हासिल हुनेगरी तोकिएका मापदण्डका आधारमा संविधानको अनुसूचि ६ बमोजिम प्रदेशको एकल अधिकार सूचिका विषयमा पर्ने र तोकिएको लागत सिमाभित्रका आयोजनाहरु मात्र कार्यान्वयनमा लैजान सकिने भएकोले अव सोहि अनुसारका योजनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।
अब प्रदेश स्तरका आयोजनाहरु छनौट गर्दा लागतका आधारमा साझा अधिकारका विषयमा ३ करोडदेखि ५० करोडसम्मका अनुमानित लागतका योजनाहरु प्रदेश सरकारले सञ्चालनमा ल्याउने भन्दै उपाध्यक्ष डा.अधिकारीले कोशी प्रदेश सरकारले विभिन्न ३८५ वटा सडकहरुलाई प्रदेशिक आयोजनाको रुपमा पहिचान गरी प्रादेशिक सडक सञ्चालन सूचि राजपत्रमा प्रकाशित गरिसकको पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेशस्तरीय आयोजना छनौट प्रक्रियामा स्थानीय तहले आयोजनाको छनौट र बर्गिकरण गर्ने, अध्ययन र विश्लेषण गरी योजना बैंकमा समावेश गर्ने, गोष्ठिबाट र मन्त्रालयहरुबाट आएका योजनाहरु बैंकमा प्रबिष्ट गर्ने, प्रदेशस्तरीय योजना माग गर्ने, आयोजना तर्जूमा गोष्ठिबाट योजनाहरु छनौट हुने जस्ता गहन विषयमा अभिमुकरण गरिएको छ ।
कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले उद्घाटन गर्नुभएको सो कार्यक्रममा उदयपुरको संघीय निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नं क बाट कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय साँसदहरु हिमाल कार्की,गिता रेग्मी, लिलाकुमारी राई तथा सम्झना तामाङ्ग लगायत सो कार्यक्रममा जिल्ला समन्वयसमितिका अध्यक्ष तथा पदाधिकारी त्रियुगा नगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकारहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, प्रादेशिक विषयगत निकायका प्रतिनिधिरु समेतको सहभागिका रहेको थियो ।