• ६ चैत २०८१, बुधबार

विनयीत्रिवेणीमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

blog

विनयी त्रिवेणी गाउँपालिकाले आयोजना गरेको निःशुल्क शल्यक्रियामा सहभागी बिरामीहरु ।

ज्ञानु पंगेनी 

मध्यविन्दु,  चैत ६ गते । नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । 

बुधबारबाट सुरु भएको शल्यक्रिया बिहीबार सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले बताउनुभयो । गाउँपालिले विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । परिक्षणमा सात सय ९५ जना सहभागी भएका थिए । जसमध्ये एक सय ६१ जनालाई मोतियाबिन्दु देखिएको गाउँपालिकाका उपाध्यक्ष बैदवारले बताउनुभयो । 

गाउँपालिकाले मोतियाबिन्दु भएका व्यक्तिहरुको छनोटका लागि नेत्रज्योती संघ नवलपरासी पूर्व र नेत्रज्योती संघ, भरतपुुर आँखा अस्पताल, चितवनसँगको समन्वयमा चैत्र ३ गते बेनिमणीपुर स्वास्थ्य चौकी सर्दी र कुडापानी स्वास्थ्य इकाईमा मोतियाबिन्दु परिक्षण गरिएको थियो । 

यस्तै चैत ४ गते विनयी त्रिवेणी गाउँपालिका ६ र ७ का लागि त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा परिक्षण गरिएको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो । चैत ५ गते भानुदय माध्यामिक विद्यालय, दुम्कीबास र विनयी त्रिवेणी गाउँपालिका १ को वगुवन क्षेत्रमा मोतियाबिन्दु परिक्षण गरिएको हो । 

मोतियाबिन्दु परिक्षणबाट मोतियाबिन्दु देखिएका एक सय ६१ जनालाई बुधवार र बिहिबार भानुदय माध्यामिक विद्यालय दुम्कीबासमा शल्यक्रियाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । 

विगतमा मोतियाबिन्दु परिक्षण स्थानीय स्तरमा गरेर कावासोती, चितवन, हेटौडा लगायतको स्थानमा शल्यक्रियाको लागि लगिने गरेकोमा यस पटक स्थानीय स्तरमा नै शल्यक्रियाको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गाउँपालिकामा गत वर्ष एक सय २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । 

विभिन्न स्थानमा गरिएको परिक्षण शिविरबाट मोतियाबिन्दु भएका व्यक्तिहरुको शल्यक्रिया गर्नु पूर्व सुगर लगायत अन्य परिक्षणहरु गरे पश्चात मोतियाबिन्दुको शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल चितवनकी डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिनुभयो । परिक्षणको क्रममा अधिकाशंमा उमेरसंगै देखिने मोतियाबिन्दु देखिएको उहाँले बताउनुभयो ।