• ६ चैत २०८१, बुधबार

कांग्रेसमा गुटको अन्त्य गर्न विधान संशोधन गछौँ : महामन्त्री थापा

blog

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत्र ६ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुटको अन्त्य गर्नको लागि पार्टीले विधान संशोधन गर्ने बताउनुभएको छ।

महामन्त्री थापाले बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौली गरेको सभालाई सम्बोधन गर्दै बताउनु भएको हो। 

महामन्त्री थापाले क्रियाशील सदस्यबाटै केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापति छान्ने कानुनी व्यवस्था गरे कांग्रेसमा गुटबन्दी अन्त्य हुने बताउनुभयो। 

महामन्त्री थापाले भन्नुभयो, ‘सीमित व्यक्तिबाट छान्दा दुरबिन लगाएर खोज्ने र गुट बनाउने काम भयो, यसको अन्त्यको लागि विधान संशोधनको बैठक गर्न लागेका छौं।’  

गुट–उपगुट समाप्त गर्ने हो आगामी महाधिवेशनमा यो विधिलाई बदल्नुपर्ने उहाँको भनाइ थियो। देशभरका क्रियाशील सदस्यले मत हालेर सभापति चुनौं’, थापाले भन्नुभयो, ‘उम्मेदवार पालिकाका क्रियाशीलले टुङ्ग्याउने हो भने काठमाडौँ जानुपर्दैन।’ 

एक भोटले कांग्रेसको सभापति छानिने, जिल्ला सभापति छानिने विधिका बारेमा  छलफल गर्न जरुरी रहेको उहाँले बताउनुभयो। 

महामन्त्री थापाले पूर्व विशिष्टलाई सुविधा थप्ने नभई कटौटी गर्नुपर्ने बताउनुभयो। देशको अर्थतन्त्र कमजोर भएकोले कटौती हुनुपर्ने उहाँको भनाइ थियो। खर्च घटाउने उपायको बारेमा कानुन नै बनाउन उपयुक्त हुने महामन्त्री थापाको भनाइ थियो। पूर्व विशिष्टको लागि उपचार, घर खर्च राज्यका लागि भार हुनु नहुने उहाँले बताउनुभयो। 

महमन्त्री थापाले सरकारद्वारा सञ्चालित उद्योग घाटामा भएकोले बन्द गर्नुपरेको स्मरण गर्दै सो सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन उपयुक्त हुने बताउनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशका विकासको सबै काम, सबैजाती, महिलालाई अधिकार दिने, देशमा शान्ति दिने र निकास दिने पार्टी नेपाली काँग्रेस भए पनि प्रचार हुन नसकेको बताउनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति, जितप्रकाश आले, क्षेत्र नम्बर १ का सभापति श्याम मौरती लगायतले गुट उपगुटमा नलागेर सङ्गठन निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो।