एकेन्द्र महता
अछाम, चैत ६ गते । अछाम जिल्लामा एसइई परीक्षकाो तयारी पुरा भएको छ । बिहिबारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको हो ।
जिल्लाका सम्पूर्ण २६ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षाको तयारी पुरा भएको हो । परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित र शान्तपुर्ण वातावरणमा सञ्चालन गर्न सहयोग गरि दिन सबै सरोकारवालालाई शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशीले आग्रह गर्नुभयो ।
परिक्षामा सम्मलित सबै विद्यार्थीलाई कुनै डर त्रास बिना र उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन विद्यार्थीलाई सफलताको शुभकामना समेत प्रमुख जोशीले व्यक्त गर्नुभयो ।
अछाममा रहेका २६ वटा परीक्षा केन्द्र अनुसार ढकारी गाउँपालिकामा २, तुर्माखाँद गाउँपालिकामा ३, कमलबजार नगरपालिकामा २, पञ्चदेवल विनायक नगरपालिकामा २, मंगलसेन नगरपालिकामा ६, रामारोशन गाउँपालिकामा २, बान्नीगढी जयगढ गाउँपालिकामा १, साँफेबगर नगरपालिकामा ५, मेल्लेख गाउँपालिकामा २ र चौरपाटी गाउँपालिकामा १ वटा परीक्षा केन्द्र रहेका शिक्षा विकास तथा समन्वय इकाइ अछामका परीक्षा शाखा प्रमुख तथा सुचना अधिकारी सुरेन्द्र प्रसाद बजगाइँले बताउनुभयो ।
जिल्लाका २६ वटा परीक्षा केन्द्रबाट छात्र २ हजार ३ सय ७१ र छात्रा २ हजार ६ सय ५८ गरी जम्मा ५ हजार २९ जना परीक्षार्थी परीक्षामा सामेल हुने बजगाइँले बताउनुभयो । जस अन्तर्गत नियमितमा साधारण तर्फ ४ हजार १ सय १९, प्राविधिक धारतर्फ १ सय ८२ गरी ४ हजार ३ सय १ र ग्रेड बृद्धिमा ७ सय २८ गरी कुल ५ हजार २९ परीक्षार्थी रहेका छन् ।
ग्रेड वृद्धिमा ७ सय २८ मध्ये २०७८ र २०७९ सालको नियमित परीक्षामा सहभागी भई २०८१ सालको ग्रेड वृद्धि परीक्षामा सहभागि हुने २९ जना परीक्षार्थीको परीक्षा केन्द्र श्री षोडशा माध्यमिक विद्यालय (ख) केन्द्र निर्धारण गरिएको छ ।
यस्तै प्राविधिक धारतर्फका ६ वटै विद्यालयका सम्पूर्ण परीक्षार्थीको परीक्षा केन्द्र अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाममा रहेको छ ।