• १९ चैत २०८१, मङ्गलबार

स्थानीयले बन्द गरे जलविद्युत् आयोजना

blog

राजकुमार भट्टराई

खोटाङ, चैत ६ गते । मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् । केपीलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् । जनप्रतिनिधिलेसमेत नागरिकलाई साथ दिएका छन् । 

केपीलासगढी गाउँपालिका–७, सुङ्देलका वडाध्यक्ष तेजकुमार राई र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिका संयोजक माइतीराज राईको नेतृत्वमा चैत ४ गते आयोजना स्थल पुगेका जग्गाधनीले जलाशयतर्फ गइरहेको पानी खोलातिर फर्काएर आयोजना बन्द गराएका छन् । जलविद्युत् आयोजना सञ्चालन भएको बर्सौं हुँदा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको भन्दै जग्गाधनीले आयोजना बन्द गरेका हुन् । 

सुङ्देल र केपीलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावा खोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको विद्युत् २०७७ भदौ १६ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो तर जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीले हालसम्म जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको जग्गाधनीको दाबी छ ।  

सङ्घर्ष समितिले प्रसारण लाइनले ओगटेको जग्गाको प्रतिमिटर पाँच हजार रुपियाँका दरले क्षतिपूर्ति पाउनुपर्ने, खोलामा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, आयोजनाको काम गर्ने क्रममा क्षति पुगेका जग्गाको क्षतिपूर्ति दिएर रावा इनर्जीले आफ्नो नाममा पास गर्नुपर्नेलगायतका पाँचबुँदे मागसहित फागुन २७ गते ध्यानाकर्षण गराएको थियो । माग सम्बोधन नभएको भन्दै सङ्घर्ष समिति आयोजना बन्द गर्ने तहमा उत्रिएको हो । चैत ३ गतेसम्मको समय सीमाभित्र आफ्ना माग पूरा नभएकाले आयोजना बन्द गर्नु परेको सङ्घर्ष समितिका संयोजक राईले बताउनुभयो ।