पोखरा समाचारदाता
पोखरा, चैत ६ गते । चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो ।
यसैबिच छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत आज व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि प्रस्थान गरेका छन् । १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गरेको थियो भने १२७ जना नेपाली पर्यटन व्यवसायी लिएर छेन्दु प्रस्थान गरेको हो ।
त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुरुवात राम्रो रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सो उडानका लागि प्राधिकरण मात्र नभई निजी क्षेत्रको सक्रियताले सफलता मिलेको बताउनुभयो ।