गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ६ गते । त्रिभुवन विश्वविद्यालयका दुई तिहाइ आङ्गिक क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । त्रिविका अनुसार ६३ वटा आङ्गिकमध्ये ४२ वटामा निर्वाचन सम्पन्न भएको छ । १९ वटामा भने निर्वाचन हुन सकेन । तीमध्ये पाटन संयुक्त क्याम्पस र पोखराको पिएन क्याम्पसमा मतदान सुरु भएर पनि विद्यार्थी सङ्गठनको विवादका कारण स्थगित भएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी दुई क्याम्पसमा छिट्टै अर्को निर्वाचन हुने छ भने बाँकी १७ वटामा उच्चस्तरीय राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गरिने छ । विद्यार्थी सङ्गठनले ताला लगाएका कारण ती क्याम्पसमा मङ्गलबारको चुनाव हुन सकेन । विद्यार्थी सङ्ख्या धेरै रहेका र स्ववियु निर्वाचनको हिसाबले पनि निकै चासोका साथ हेरिएको रत्नराज्यलक्ष्मी, नेपाल ल, विश्वभाषा, पाटन संयुक्त, त्रिचन्द्रलगायतका क्याम्पसमा निर्वाचन हुन सकेन ।
तर, मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा १६ वर्षपछि निर्वाचन भएको छ । पोखराको पिएन क्याम्पसमा पनि १६ वर्षपछि नै निर्वाचन हुन लागेको थियो । यी क्याम्पसमा २०६५ सालमा निर्वाचन भएको थियो । साथै त्रिविबाट सम्बन्धन प्राप्तमध्ये सबैजसो क्याम्पसमा निर्वाचन भएको तर यकिन तथ्याङ्क नआएको त्रिविका शिक्षाध्यक्ष केसीले बताउनुभयो । यसैबिच थापाथली इन्जिनियरिङ क्याम्ससको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका प्रह्लाद खड्का निर्वाचित हुनुभएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भने स्वतन्त्र उम्मेदवार स्वयम् श्रेष्ठ निर्वाचित हुनुभएको छ । निर्वाचन भएकामध्ये अधिकांश क्याम्पसमा मङ्गलबार रातिसम्ममा नतिजा आइसकेको छ ।