• ५ चैत २०८१, मङ्गलबार

फोनपेको यूपीआई भुक्तानी सेवामा एकवर्षे सफलता

blog

यूपीआई भुक्तानी सेवा शुभारम्भ गरिँदै ।

गोरखापत्र अनलाइन

ललितपुर, चैत ५ गते । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (ए२ः) कारोबारको एक वर्ष पूरा गरेको छ । 

फोनपेले भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डियाको अन्तर्राष्ट्रिय शाखा इन्टरनेशनल पेमेन्ट्स लिमिटेडसँग सहकार्य गरी मार्च २०२४ मा सीमापार यूपीआई भुक्तानी स्वीकार गर्ने सेवा सुरु गरेको थियो ।

फेब्रुअरी २०२४ मा यूपीआई एकीकरणपछि फोनपेले नेपालका ६७ हजारभन्दा बढी व्यापारीलाई डिजिटल भुक्तानी गर्न सक्षम बनाएको जनाएको छ । त्यस्तै, भारतीय पर्यटकको संख्या १ लाख २७ हजारभन्दा बढी पुगेको छ । मोबाइलमार्फत सहज, छरितो र सुरक्षित कारोबार गर्न सफलता मिलेको संस्थाको भनाइ छ । 

एक वर्षभित्र फोनपेले एक अर्ब ६० करोड रुपियाँभन्दा बढीको यूपीआई कारोबार गरेको जनाएको छ । खुद्रा, होटल सेवा, स्वास्थ्य सेवा, र पर्यटन क्षेत्रमा डिजिटल भुक्तानीको तीव्र स्नेह दर्शाएको संस्थाका पदाधिकारीहरुको भनाइ छ । 

पछिल्लो वर्षमा ५.६ लाखभन्दा बढी कारोबार दर्ता भएका छन्, जसले भारतीय पर्यटकले नगदरहित भुक्तानीलाई खुलारूपमा अपनाएको देखाउँछ । ४८ हजारभन्दा बढी पुनः ग्राहकहरू प्रत्येकले सामान्य तीन पटक कारोबार गरेको संस्थाले जनाएको छ । 

सीमापार डिजिटल भुक्तानीमा विश्वास र सहजतामा झन् वृद्धि भएको संकेत गरेको छ । ४२ प्रतिशत कारोबार एक हजारदेखि पाँच हजारको दायरामा भएको बताइएको छ । मुख्यतः खाना, किनमेल र यात्रा खर्च समेट्नेगरेको छ । नगदरहित भुक्तानीको सरलताले भारतीय पर्यटकको यात्रा अनुभव सहज बनाएको छ । जसले नेपाललाई अझ आकर्षक गन्तव्य बनाएको दावी संस्थाको छ ।

नेपालका व्यवसायीहरूले पनि सीमापार भुक्तानीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीर्थयात्रा स्थलहरूदेखि ट्रेकिङ एडभेन्चर र खुद्रा बजारसम्म, व्यापारीले यूपीआई भुक्तानीलाई स्वीकार गर्दै आफ्नो ग्राहक दायरा विस्तार गरेका छन्, जसले नेपालको अर्थतन्त्रलाई सहयोग गरेको छ । 

खुद्रा पसलहरू २७ प्रतिशत, रेस्टुरेन्ट र क्याफेहरू १९.६८ प्रतिशत र होटल तथा रिसोर्टहरू १५.४ प्रतिशतन प्रमुख खर्च क्षेत्र रहेको संस्थाको भनाइ छ । प्रमुख यूपीआई कारोबार केन्द्रहरूमा पशुपतिनाथ मन्दिर, ठमेल, पोखरा (लेकसाइड), जोमसोम–मुक्तिनाथ, र सीमाक्षेत्र सहरका आँखाका अस्पतालहरू रहेका छन् । 

क्षेत्रीय रूपमा बागमती प्रदेशले ४४ प्रतिशत कुल कारोबारको नेतृत्व गरेको छ । जसले नेपालका प्रमुख पर्यटक गन्तव्यहरूमा नगदरहित भुक्तानीको उच्च वृद्धि देखाएको छ ।

यूपीआई भुक्तानी स्वीकृति केवल शहरी क्षेत्रमा सीमित नभएर डोल्पा, अछाम, र बाजुराजस्ता दुर्गम स्थानहरूमा पनि विस्तार भएको छ । डिजिटल भुक्तानी प्रविधिले नेपालका टाढाका समुदायलाई पनि वित्तीय रूपमा जोड्न सफल भएको जनाएको छ । 


सीमापार भुक्तानीमा एउटा महत्वपूर्ण सफलता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुक्तिनाथ मन्दिरमा यूपीआई भुक्तानी सेवा शुभारम्भ गर्नुभएपछि प्राप्ती भएको संस्थाको भनाइ छ । फोनपे, प्रभु बैंक, र स्थानीय अधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा भारतीय भक्तजनहरूले फोनपे क्यूआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था  उदघाटन गरिएको थियो । 

गभर्नर अधिकारीले डिजिटल भुक्तानीले वित्तीय समावेशीकरण प्रवर्धन गर्ने र नेपाललाई डिजिटल नेपाल दिशामा अगाडि बढाउने विषयमा जोड दिनुभयो ।

के हो फोनपे ? 

फोनपे नेपालमा सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्था हो । नेपाल राष्ट्र बैंकद्वारा नियन्त्रित र लाइसेन्स प्राप्त कम्पनी पनि हो । फोनपेले बैंक र वालेट ग्राहकहरू तथा व्यवसायहरूको लागि छिटो, सुरक्षित, र विश्वासिलो डिजिटल नगदविहीन भुक्तानी सेवाहरू प्रदान गर्दै नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा सक्रिय योगदान दिइरहेको छ । कम्पनीले मोबाइल भुक्तानी नेटवर्कमा प्रविधिको प्रयोग गरेर नवप्रवर्तन ल्याउन, अपरेसनको कार्यक्षमता बढाउन र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्न लक्ष्य राखेको छ ।