• ५ चैत २०८१, मङ्गलबार

विद्यालय भवन निर्माण

blog

तस्बिर : केदार तिमल्सिना जर्मनीस्थित नेपाल हिल्फे बाइलङ्ग्रिस इभीको आर्थिक सहयोगमा निर्माण गरिएको भालचन्द्र माध्यमिक विद्यालयको नयाँ भवन ।

बनेपा समाचारदाता

बनेपा, चैत ५ गते  । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानस्थित भालचन्द्र माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ । जर्मनीस्थित नेपाल हिल्फे बाइलङ्ग्रिस इभीको आर्थिक सहयोगमा जनहित नेपाल नामक साझेदार संस्थाले भवन निर्माण गरेको हो । 

निर्माण प्रारम्भ गरिएको एक वर्षको अवधिमा विद्यालय भवन निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम तामाङले जानकारी दिनुभयो । नेपाल हिल्फे बाइलङ्ग्रिस इभी जर्मनीका अध्यक्ष मानफ्रेड लिन्डरले संस्थाले सन् २०१३ मा विद्यालयका लागि एउटा भवन निर्माण गरिदिएकोमा विद्यार्थीको सङ्ख्या बढेसँगै अर्को भवन निर्माणका लागि आग्रह गरेपछि भवन निर्माणको काम अघि बढाइएको थियो । संस्थाको करिब दुई करोड रुपियाँको लागतमा सातकोठे भवन, शौचालय तथा घेराबाराको काम गरिएको हो । 

विद्यालय भवन हस्तान्तरण कार्यव्रmममा नगरप्रमुख रामशरण भण्डारीले विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भवनलगायतको भौतिक पूर्वाधारको समेत महìवपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भवन निर्माण भएसँगै राम्रो पूर्वाधार भएको विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीको चाहना पूरा भएको बताउनुभयो । उहाँले असोज दोस्रो साताको बाढीपहिरोका कारण नगरपालिकाभित्र ठुलो आर्थिक क्षति पुग्न गएकाले सार्वजनिक रूपमा नै विद्यालय भवनलगायतका पूर्वाधार निर्माणका लागि आग्रह गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । नगर उपप्रमुख गीता बन्जाराले विद्यालयका लागि भवन आवश्यक परेको समयमा निर्माण भएपछि सहज रूपमा पठनपाठन सञ्चालन गर्न सहयोग पुगेको बताउनुभयो ।

संस्थाका अध्यक्ष लिन्डरले विद्यालय भवन स्थानीय समुदायको सम्पत्ति रहेकाले त्यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संस्थाले आगामी दिनमा पनि विभिन्न कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिनाले विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको जानकारी दिनुभयो । सिर्जनात्मक तथा अनुशासित भई उच्च शिक्षा हासिल गराउन र दक्ष जनशक्ति उत्पादन गर्नु विद्यालयको उद्देश्य रहेको बताउनुभयो । उहाँले विद्यालयमा भर्ना भएर अध्ययन गर्नका लागि केही विद्यार्थीले चाहना गरे पनि विद्यालयमा बसको व्यवस्था नभएका कारण टाढाका विद्यार्थीको पहुँच पुग्न नसकेको गुनासो गर्नुभयो ।