अविनाश चौधरी
धनगढी, चैत ४ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रानाथारु समुदायको संस्कृतिले सबैको मन जितेको बताउनु भएको छ ।
नेपाल रानाथारु समाजले आज धनगढीमा आयोजना गरेको होरी मिलन तथा खख्डेहरा महोत्सवमा उहाँले यस्तो बताउनु भएको हो । मियाँले भन्नुभयो,“जसको संस्कृतिले मन जित्छ, त्यो सफल हुन्छ ।”
रानाथारु संस्कृति प्रगतिशिल रुपमा अगाडि बढेको उल्लेख गर्नुहुँदै मियाँले रानाथारु सांस्कृतिक पोशाक नै रंगीबिरंगी रहेकाले कुनै रंगको आवश्यकता नपर्ने बताउनुभयो ।
उहाँले आफू प्रदेश प्रमुख भएर सुदूरपश्चिम आउँदै गर्दा कतिपयले सतर्कताका साथ काम गर्न आग्रह गरेको स्मरण गर्नुहुँदै यहाँ आउँदा आफूले सद्भाव र मेलमिलाप पाएको बताउनुभयो । सुदूरपश्चिमको भेषभूषा, धर्म, कला, संस्कृति, आत्मियता देखेर आफूलाई धनगढीमै बसिरहन मन लाग्ने गरेको उहाँको भनाइ छ ।
“अन्य प्रदेश प्रमुख साथीहरु भन्नुहुन्छ, तपाई किन काठमाण्डौं आउनु हुन्न ? मलाई धनगढी छोडेर काठमाडौँ जानै मन लाग्दैन ।” प्रदेश प्रमुख मियाँले आफू सुदूरपश्चिममा नभइ सुन्दरपश्चिममा आएको टिप्पणी गर्नुभयो ।
होरी मिलन तथा खख्डेहरा महोत्सवमा कैलाली, कञ्चनपुरसहित भारतका रानाथारु समुदायले होरी नाच प्रस्तुत गरेका थिए । यसैगरी, रानाथारु कलाकारहरुले एकल प्रस्तुतिसमेत गरेका थिए ।
महोत्सवमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । नेपाल रानाथारु समाज केन्द्रीय समितिका अध्यक्ष कमलसिंह रानाको अध्यक्षतामा भएको महोत्सवमा विभिन्न राजनीतिक दलमा आवद्ध रानाथारु समुदायका नेता, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।