• ४ चैत २०८१, सोमबार

नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्छ : डा. भण्डारी

blog

नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी । फाइल तस्बिर ।

रमेश विश्वकर्मा

गुल्मी, चैत ४ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मी दरबार गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता भण्डारीले राजनीतिक दल र सरकारको नेतृत्व गर्ने जो कोहीले आमनागरिक र युवाहरूको चाहनालाई पूरा गर्नुपर्ने बताउनुभयो । आमनागरिकको भविष्यको सुरक्षाका लागि नेतृत्वकर्ता सबै लाग्नुपर्ने भन्दै उहाँले देशको नेतृत्व गर्ने नेताहरू अपडेट हुन जरुरी रहेको बताउनुभयो ।

२०८४ सालपछि पार्टी र सरकार दुवै युवाको हातमा जाने भन्दै नेता भण्डारीले कांग्रेस पार्टीलाई राम्रो, बलियो र सशक्त क्रियाशील बनाउन युवाहरू लागेको बताउनुभयो । कांग्रेससँग देश र आमनागरिकको भविष्य जोडिएको भन्दै पार्टीलाई राम्रो र बलियो बनाउन आफूहरू निरन्तर लागेको उहाँले बताउनुभयो ।

वर्तमान व्यवस्थाको विरुद्धमा अनावश्यक बोल्नेहरू देखिएको हुँदा व्यवस्थाको रक्षाका लागि नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अहिलेको व्यवस्था देश र जनताको हितमा रहेको भन्दै उहाँले जनताको अवस्था बदल्न नेतृत्वको अहम् भूमिका रहेको बताउनुभयो ।