सन्तोष दहित
दाङ, चैत ४ गते । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले पिएम कपमा चौथो जित हासिल गरेको छ । लुम्बिनीका स्पिनरले कसिलो बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा १५९ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशका कुनै पनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनको सानदार जीत निकाल्यो ।
युवा खेलाडी सम्मिलित लुम्बिनीका खेलाडीले मधेशका चार खेलाडीलाई बोल्ड गर्दा ३ खेलाडी एलबीडब्लू आउट भए । १/१ जना स्पम्पिङ आउट, रनआउट र क्याच आउटको सिकार हुँदै २५.५ ओभरमा सबै विकेट गुमाएर मधेश प्रदेशका खेलाडीले जम्मा ७५ रन जोडे ।
मधेशका लागि दीपेश दासले ५९ बल खेलेर १ चौकासहित २३ रन बनाएर रनआउट हुन पुग्नुभयो हरिशंकर शाहले ३३ बलमा १ चौकासहित १४ रन जोडेर विप्रसन केसीको बलमा एलबीडब्लू आउट हुनुभयो ।
पहिलो ओभरमा राम्रो सुरुवात गरेको मधेशका लागि हतारिएर ब्याटिङ गर्दा सस्तैमा समेटिए । पहिलो पावर प्लेमा ३३ रन जोड्दा ४ विकेट गुमाएको मधेश प्रदेश २६ दशमलव ५ ओभरअलआउट भयो ।
मधेशका लागि दुई जना बाहेक अरू कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । कप्तान अनिल साह ६ रनमा स्पम्पिङ आउट हुँदा रोशन विक ४ रनमा रमेश कुर्मीको बलमा बोल्ड हुनुभयो ।
मयन यादव २ रन, पवन सर्राफ १ रन, प्रदीप पासवान ८ रन, रूपेश सिंह ९ रन, कमल गुप्ता २ रन बनाएर पेभेलियन फर्किँदा विशाल पटेल र रञ्जित कुमारले खाता नै खोल्न सक्नुभएन । मधेशको टीमदाई धरासयी बनाउन रमेश कुर्मीले ८ ओभरमा २ मेडनसहित जम्मा १० रन दिएर महत्त्वपूर्ण ४ विकेट लिनुभयो ।
विप्रसन केसीले ५ ओभरमा ३ मेडनसहित जम्मा ७ रन दिएर ३ विकेट लिनुभयो । कप्तान देव खनालले २ ओभरमा ८ रन दिएर १ विकेट, अजय चौहानले ७ दशमलव ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर १ विकेट लिनुभयो। लुम्बिनी प्रदेशका लागि ७३ रन बनाउँदै जीतका आधार तय गरेका आकाश त्रिपाठी प्लेयर अफ दी म्याच हुनुभो ।
यसअघि, युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले १५८ रन बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतमा ७३ रनको योगदान दिनुभयो । उहाले अर्धशतक बनाउन १०५ बल खेल्नुभयो ।
६० रनमा पाँच विकेट गुमाई सकेको अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनको साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको हो । विशाल पटेलको बलमा बोल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकास्नुभयो । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाउनुभयो ।
कप्तान देव खनाल २५ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबिडब्लूको सिकार हुनुभयो । लुम्बिनीका अरु खेलाडी सस्तैमा आउट हुनुभयो । ओपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाउनुभयो । नरबहादुर सार्कीले ५ रन, अजय चौहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३/३ रन, प्रज्वल थापा र रमेश कुर्मले १/१ रन जोड्नुभयो ।
पहिलो १० ओभरमा जम्मा २९ रन बनाउँदा दुवै ओपनर गुमाएको लुम्बिनीले २३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएको थियो । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हो ।
मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलो बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पार्नुभयो । विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिनुभयो ।
उहाँले ले ५ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ ओभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिनुभयो । रञ्जित कुमारले १० ओभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ ओभरमा २१ रन दिएर १ विकेट लिनुभयो ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौँ स्थानमा मधेश प्रदेश रहेको छ । अहिलेसम्म ४ खेल खेलिसकेको लुम्बिनीले ३ खेलमा जीत र १ मा हार खेप्दै ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । ४ खेल खेलिसकेको मधेश प्रदेश १ खेलमा जीत र दुईमा हार खेप्दै २ अङ्कसहित पाँचौँ स्थानमा छ ।
लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टीम एपिएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रूपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।
तीन खेल मैदानमा भइरहेकोे प्रतियोगिता अन्तरगत रूपन्देहीमा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गलामा १४ वटा गरि ४६ वटा खेल भइरहेका छन् ।