गुणबहादुर रोका
सुलीकोट, चैत ४ गते । गोरखाको पालुङटार नगरपालिका–९ खारखोलमामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल एघार महिनामै निर्माण सम्पन्न भएको छ ।
पालुङटार नगरपालिका–९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ११ महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ढुङ्गेटारीको दुई खोला दोभान खारखोलमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेबा जेभीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले द्रुत गतिमा काम गरेकाले एघार महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको हो । उक्तपुल पालुङटार नगरपालिका–९ ढुङ्गेटारीको खारखोलामा समपन्न भएको मोटरबेल पुलको लम्बाई २५ र चौडाई ८.४० मिटर रहेको छ ।
निर्माण कम्पनीले मोटरेबल पुल निर्माणका लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम ११ महिनामा सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख सुवेदीले बताउनुभयो ।
पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच २ करोड ७५ लाख ९० हजार १ सय २५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए लगत्तै निर्माण कम्पनीले उक्त पुल निर्माणमा उदाहरणीय काम गरेर देखाएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।
पालुङटार नगरपालिका, गोरखा नगरपालिका र तनुहँको आँबुखैरनीलाई व्यावसायिक केन्द्र हुने गरी पुल निर्माण भएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको भनाइ छ । उक्त पुल निर्माण भएपछि पालुङटारवासीलाई गोरखा सदरमुकामसम्म पुग्न ४५ मिनेट लाग्ने भएको पालुङटार–९ का वडाध्यष भेषराज पाण्डेले बताउनुभयो ।
पालुङटार नगरपालिकाका स्थानिय किसानहरूले उत्पादन गरको लिची, उखु र अदुवा गोरखा सदरमुकाम, चितवन, तनुहँ, पोरखरा र काठमाडाैँसम्म सजिलै लान सकिने भएकाले पालुङटार नगरवासीहरुको आर्थिक उपजर्नमा समेत टेवा पुग्ने वडाध्यक्ष पाण्डेको भनाइ छ ।
अहिले उक्त पुलमा माटो फिलिङ गरी एप्रोच रोड र पुलमा रेलिङको काम पनि सम्पन्न भएकाले अबको केहि दिनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले पुलको उदघाटन गर्ने कार्यक्रम रहेको साईड इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो ।
पुल निर्माणका लागि स्थानिय सडक पुल निर्माण कार्यक्रम अन्तर्गत स्थानिय पुल सर्पोट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेसनको प्राविधिक सहयोगमा काम सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।