• ४ चैत २०८१, सोमबार

पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको मध्यम लक्ष्य

blog

लमहीस्थित क्रिकेट मैदानमा लुम्बिनीको तर्फबाट खेल्दै युवा ब्याटर आकाश त्रिपाठी । तस्बिर : क्यान

सन्तोष दहित 

दाङ, चैत ४ गते । युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले मधेश प्रदेशको टीमलाई १५९ रनको विजयी लक्ष्य दिएको छ । 

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आज टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएर मधेश प्रदेशलाई १५९ रनको विजयी लक्ष्य दिएको हो ।

प्रतियोगिताको २३ औँ खेलमा लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतमा ७३ रनको योगदान दिनुभयो । उहाँले अर्धशतक बनाउन १०५ बल खेल्नुभयो ।  

६० रनमा पाँच विकेट गुमाई सकेको अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनको साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको हो । विशाल पटेलको बलमा बोल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकासनुभयो  । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाउनुभयो ।

कप्तान देव खनाल २५ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबिडब्लूको सिकार हुनुभयो। लुम्बिनीका अरू खेलाडी सस्तैमा आउट भए । ओपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाउनु भयो । नरबहादुर सार्कीले ५ रन, अजय चौहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३-३ रन, प्रज्वल थापा र रमेश कुर्मले १-१ रन जोड्नुभयो । 

पहिलो १० ओभरमा जम्मा २९ रन बनाउँदा दुवै ओपनर गुमाएको लुम्बिनीले २३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएको थियो । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हो ।

मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलो बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पार्नुभयो। विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ५ ओभर बलिङ  गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ ओभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिनुभयो । रञ्जित कुमारले १० ओभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ ओभरमा २१ रन दिएर १ विकेट लिनुभयो ।

१५९ रनको विजयी लक्ष्य पछ्याउन अब केहीबेरमा मधेश प्रदेशले जवाफी ब्याटिङ गर्दैछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौं स्थानमा मधेश प्रदेश रहेको  छ ।

अहिलेसम्म ४ खेल खेलीसकेको लुम्बिनीले ३ खेलमा जीत र १ मा हार व्यहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा रहँदा ३ खेल खेलीसकेको मधेश प्रदेश १ खेलमा जीत र दुईमा हार बेहोर्दै २ अङ्कका साथ अङ्क तालिकाको पाँचौं स्थानमा छ । 

लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र बाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।

यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टीम एपीएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ । आजको खेलमा जीत निकाल्दै लुम्बिनी प्रदेश अङ्क तालिकाको उत्कृष्ट चारमा यथावत रहन चाहन्छ भने मधेश प्रदेशले हारको श्रृङखला तोड्दै लुम्बिनीलाई उस्कै घरेलु मैदानमा हराएर अङ्क तालिकामा सुधार ल्याउन चाहन्छ ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रूपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।

तीन खेल मैदानमा भइरहेकोे प्रतियोगिता अन्तरर्गत रूपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन्। जसमा आइतबारसम्म २० वटा खेल भइसकेका छन् ।