विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ४ गते । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । चैत ५ गते मङ्गलबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सबै तयारी पूरा भएको हो ।
सहज रूपमा मतदान सम्पन्न गराउन मविव क्याम्पस राजविरामा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ रहने निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा ५० जना कर्मचारी खटाइएको समेत बताउनुभयो ।
निर्वाचन अधिकृत यादवका अनुसार कुल ३०१२ मतदाता रहेको र सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कुल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।
निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ र लोकतान्त्रिक विद्यार्थी सङ्घको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिशकुमार यादवको प्यानल, समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजितकुमार यादवको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
यस्तै, विद्यार्थी जनमत सङ्घ बाट त्रिवेणीकुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् भने विनयकुमार यादव (बालेन) पनि सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विद्यार्थीको हकहित अधिकार तथा क्याम्पसमा देखिएको शैक्षिक समस्याको समाधान गर्ने प्रतिबद्धता सहित उनीहरू आफ्नो पक्षमा जित हात पार्न प्रतिस्पर्धा गर्दै छन् ।