राममणि दाहाल
हेटौँडा, चैत ४ गते । काठमाडौँबाट भारतको उत्तर प्रदेशका लागि जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीस्थित धारा खोल्सामा उक्त गाडी ब्रेक फेल भई सोमबार बिहान करिब ७ बजेको समयमा पल्टिएर दुर्घटना भएको हो ।
भारतीय यु पि ७० एन टि ६९१७ नं. को उक्त दुर्घटनाग्रस्त गाडीमा १७ जना सवार रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त गाडी ब्रेक फेल भएर सडकको बायाँतर्फ ठोक्किन गई दुर्घटना भएको थियो । गाडी दुर्घटनामा घाइते हुनेमा भारतको उत्तर प्रदेश राइबेली जिल्ला बस्ने वर्ष ५५ का राजकरण तिवारी, वर्ष ३८ का जितेन्द्रप्रताप सिंह, वर्ष ४४ का अजय मिश्र र वर्ष ३८ का अभयप्रतापसिंह घाइते हुनुभएको हो ।
उक्त गाडीमा अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।