गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ४ गते । बजारमा पछिल्लो समय रहरको दालको मूल्य घटेको छ । नेपाल खुद्रा व्यवसायी सङ्घका अनुसार पछिल्लो एक महिनाको बिचमा रहरको दालमा प्रतिकेजी २० रुपियाँले घटेको हो ।
सङ्घले प्रत्येक महिनाको १ गते र १५ गते दैनिक उपभोग्य खाद्यवस्तुको खुद्रा मूल्य सार्वजनिक गर्दै आएको छ । फागुन १ गते प्रतिकेजी २६० रुपियाँमा कारोबार भएको रहरको दाल चैत १ गते भने प्रतिकेजीमा २० रुपियाँ घटेर २४० रुपियाँमा कारोबार भएको सङ्घले जनाएको छ ।
यस्तै मासको दाल र चनाको दाल पनि प्रतिकिलो पाँच रुपियाँले घटेको छ । एक महिनाअघि प्रतिकेजी दुई सय रुपियाँमा किनबेच भएको मासको दाल अहिले १९५ रुपियाँमा बिक्री भएको छ । यस अवधिमा प्रतिकेजी १८० रुपियाँमा किनबेच भएको चनाको दाल अहिले घटेर प्रतिकेजी १७५ रुपियाँ कारोबार भएको छ । सङ्घका अनुसार मुसुर दालको मूल्य स्थिर छ । बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछन् । ती दालको मूल्य क्रमशः प्रतिकेजी १६५ र १५० रुपियाँमा किनबेच भएको छ । त्यस्तै गेडा मुङ र छाटा मुङको मूल्य पनि स्थिर छ । हाल बजारमा गेडा मुङ प्रतिकेजी १७० रुपियाँ र छाटा मुङ प्रतिकेजी १८० रुपियाँ कारोबार भइरहेको छ ।