ढल्केबर समाचारदाता
ढल्केबर, चैत ३ गते । मधेश प्रदेशमा शुक्रबार होलीपर्वको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३१७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५७ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
सोही दिन प्रदेशभरमा ३५ वटा सवारी दुर्घटनामा परेर १७८ जना घाइते भएका छन् । यद्यपि मृत्यु हुने सङ्ख्या शून्य रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका थिए । जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस शुक्रबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ३१० वटा दुई पाङ्ग्रे सवारी साधन र सात वटा चार पाङ्ग्रे सवारीसाधन गरी जम्मा ३१७ सवारी साधन नियन्त्रणमा लिइएको छ । सर्लाहीमा सबैभन्दा धेरै १०२ सवारी साधन नियन्त्रणमा लिइएको छ भने सिराहामा ८२, बारामा ६२, महोत्तरीमा ५१, धनुषामा तीन, रौतहटमा छ, पर्सामा चार र सप्तरीमा सात सवारी साधन नियन्त्रणमा लिइएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले प्रदेशका आठ वटा जिल्लामा प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त जाँच टोलीले त्यतिको सङ्ख्यामा सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएको बताउनुभयो । होलीपर्वको अवसरमा सम्भावित दुर्घटना रोक्न प्रहरीले होलीलक्षित सुरक्षा अभियान चलाएको उहाँले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनलाई गल्ती अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।
बर्दीबास समाचारदाताका अनुसार शुक्रबार एकै दिन मधेश प्रदेशका विभिन्न ३५ स्थानमा सवारी दुर्घटना हुँदा ९९ जना घाइते भएका छन् । होली मनाउने क्रममा सवारी नियम उल्लङ्घन गर्ने तीन सयभन्दा बढी सवारी र ५७ जना चालकलाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरीले शनिबार जनाएको छ ।
सवारी नियम उल्लङ्घन गरेको कसुरमा सबैभन्दा बढी सर्लाही र महोत्तरीका नौ जनालाई कारबाही गरिएको छ । त्यस्तै सिराहाबाट सात जना, बाराबाट चार जना र पर्साबाट ११ जनालाई कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । होलीपर्व मनाउने नाममा ट्राफिक नियमको अटेर गर्ने, मादक पदार्थ सेवन गर्ने, होहल्ला र झैँझगडा गरी शान्ति सुव्यवस्थामा खलल पु-याएको आरोपमा सवारीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको कोइरालाले बताउनुभयो ।
होलीपर्वको समयमा सडक नियम पालना गराउन बर्दीबास ट्राफिकले पहिलो पटक साइकल गस्ती गरेको छ । जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीको कमान्डमा पाँच जना सहभागी साइकल गस्तीले बर्दीबास, गौशाला, माईस्थान, औरहीलगायत ५० किमी आसपासका क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने तीन सवारीचालकलाई सडकमै सम्झाइबुझाई पठाएको थियो ।