काठमाडौँ, चैत २ गते। गैरसरकारी संस्था महासङ्घ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको छ।
वरिष्ठ उपाध्यक्षमा नानी माया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा संजय लम्साल निर्वाचित हुनुभएको छ।
यसैगरी महासचिवमा देबी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा साथै कोषाध्यक्षमा गोविन्द बहादुर शाही निर्वाचित हुनुभएको छ। केन्द्रीय कार्यसमितिमा ५१ जनाको रहने व्यवस्था छ। अन्य ३ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ। निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।
गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३० औं वार्षिक साधारण सभा र ११ औँ महाधिवेशन यही फागुन २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो। नागरिक राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो।
यस अवसरमा विभिन्न विषयगत सत्र र कार्यशालाहरूको पनि आयोजना गरिएको थियो। जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। अति कम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको छ।
प्रधानमन्त्री र प्रमुख दलका नेताको उपस्थितिमा सामाजिक सङ्घ संस्थाले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्था र सामाजिक अभियानको दिगोपना र त्यसका लागि आवश्यक पर्ने नीति र कार्य वातावरणको लागि अनुरोध गरिएको छ। विभिन्न विषयगत कार्यशाला र राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षका रूपमा काठमाडौँ घोषणापत्र जारी गर्ने तयारी भएको कुरा महासङ्घका उपमहासचिव किरण थापाले जानकारी दिनुभयो।