• ८ वैशाख २०८२, सोमबार

सोह्रौँ शताब्दीको देवीको मन्दिर पुनर्निर्माण

blog

नवीनराज कुइँकेल

लमजुङ, वैशाख ८ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको पुनर्निर्माण गरिएको छ । देश विदेशमा चन्दा सङ्कलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा रहेको देवी मन्दिर पुनर्निर्माणका लागि स्थानीयले देश विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपियाँ सङ्कलन गरेका थिए । १६ औँ शताब्दीमा निर्माण भएको अनुमान गरिएको यो मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको थियो । मन्दिर भत्किएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरुङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाइएको थियो । समितिले देवीथान मन्दिरमा आस्था राख्ने देश विदेशमा रहेका नेपालीसँग चन्दा सङ्कलन गरेर पुनर्निर्माण सम्भव भएको गुरुङले बताउनुभयो ।

समितिका कोषाध्यक्ष विनोद गुरुङका अनुसार मन्दिरको पुनर्निर्माणका लागि ३८५ जनाले आर्थिक सहयोग गरेका छन् । मन्दिर निर्माणमा अहिलेसम्म ६० लाखभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले नवनिर्मित मन्दिरको उद्घाटन गर्दै इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको मन्दिरलाई पर्यटनसँग जोडेर यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गर्ने बताउनुभयो ।

तत्कालीन पुस्तुन बाहुनडाँडामा विसं १५१० मा जन्मिनुभएका कुश्माखर घिमिरेले मन्दिर निर्माण गरेको इतिहास छ । घिमिरे लमजुङमा यशोब्रह्म शाहलाई राजा स्थापना गरी शाहवंशीय राज्यको प्रादुर्भाव गराउने योजनाकारमध्ये एक हुनुहुन्थ्यो । देवीको मन्दिरको उत्खननका क्रममा विसं १८२५ का अभिलेखहरू भेटिएको देवीथान संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषि तथा योगीले तपस्या गरेको इतिहास पनि भेटिएका छन् । 

समितिका सल्लाहकार इन्जिनियर हेमनाथ घिमिरे पनि प्राप्त अभिलेख तथा किंवदन्तीका आधारमा कुश्माखर घिमिरेले नै स्थापना गरेको मान्न सकिने बताउनुहुन्छ । पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्धार गर्नुभएको थियो ।