• १५ असार २०८१, शनिबार

अस्ट्रेलियामा सरकार परिवर्तन

blog

अस्ट्रेलियामा सरकार परिवर्तन भएको छ । त्यहाँ मे २१ मा सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले जित हासिल गरेसँगै सरकार परिवर्तन भएको हो । निर्वाचनको परिणाम आउँदै गर्दा तत्कालीन प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गर्दै विपक्षी नेता एन्थोनी अल्बानिजलाई बधाई दिनुभयो । चुनाव हार्नुमा आफ्नो कमजोरी रहेको भन्दै उहाँले लिबरल पार्टी नेतृत्वबाट राजीनामा दिनुभयो । 

चुनावी परिणामसँगै लेबर पार्टीले नौ वर्षपछि पुनः सरकार बनाएको छ । तीन कार्यकालदेखि शक्तिमा रहेको लिबरल नेसनल गठबन्धन सत्ताबाट बाहिरिएको छ । चुनावी परिणापछि बोल्दै अल्बानिजले “अस्ट्रेलियालाई एकताको सूत्रमा बाध्ने” बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्नेमा जोड दिनुभयो । 

निर्वाचन घोषणा हुनुभन्दा अघि गरिएका विभिन्न सर्वेक्षणमा विपक्षी दल लेबर पार्टीले जित हासिल गर्ने देखिएको थियो । सम्पन्न चुनावमा एक करोड ७० लाख जनताले मत हालेका थिए । जसमध्ये करिब चार लाख ५० हजार नयाँ मतदाता थिए । निर्वाचनको प्रचारप्रसारका क्रममा दलहरूले जनताको मत जित्न सुरक्षा, स्वास्थ्य, वायु प्रदूषण, शिक्षा, यातायात, अर्थतन्त्र, जीविकोपार्जनलगायतका विषयलाई मुख्य मुद्दा बनाएका थिए । 

यो निर्वाचनले तीन वर्षका लागि नेतृत्व छनोट गरेको हो । अस्ट्रेलियाका छ राज्य तथा दुई क्षेत्रबाट तल्लो सदनका लागि १५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको थियो । बहुमतको सरकार बनाउनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट आवश्यक पर्छ । लेबर पार्टीले ७६ सिटमा जित हासिल गरेको छ । लगातार तीन कार्यकाल (नौ वर्ष) सम्म सत्तामा रहेको लिबरल गठबन्धन भने ५७ सिटमा सीमित भएको छ ।

अस्ट्रेलियाका ३१औँ प्रधानमन्त्री अल्बानिज सामान्य परिवारबाट अस्ट्रेलियाली राजनीतिमा आउनुभएको हो । उहाँले मे २३ मा पद तथा गोपनीयताको शपथ लिनुभयो । भद्र र शान्त स्वभावका अल्बानिज विद्यार्थी उमेरदेखि नै लेबर पार्टीमा क्रियाशील हुनुभयो । अघिल्लो निर्वाचनमा लिबरल गठबन्धनसँग पराजय भोगेपछि तत्कालीन पार्टी नेता बिल सर्टनले राजीनामा दिएपछि उहाँ लेबर पार्टीको नेता चयन हुनुभयो ।

आफू निकटका मानिस र राजनीतिक वृत्तमा ‘अल्बो’ उपनामले परिचित अल्बानिजले अस्ट्रेलियामा भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रिय आयोग निर्माण गर्नुपर्ने कुरालाई निर्वाचनमा जोडका साथ उठाउनुभयो । उहाँले कर्मचारीको तलब वृद्धि र जलवायु परिवर्तनबारे समेत अघिल्लो सरकारभन्दा राम्रो काम गर्ने बताउनुभएको छ । 

यस वर्षको निर्वाचन पछिल्लो समय बिग्रँदै गएको चीनसँगको आर्थिक र कूटनीतिक सम्बन्ध, रुस र युक्रेनबीचको युद्धका कारण बढ्दै गएको तनावका कारणसमेत नयाँ आएको लेबर पार्टीको नेतृत्वलाई उत्साहका साथ हेरिएको छ । यसका साथै चीनले अस्ट्रेलियाको छिमेकी टापु मुलुक सोलोमनसँग सुरक्षा सम्झौता गरिसकेपछि प्रशान्त क्षेत्रमा बढ्नसक्ने सुरक्षा चुनौतीबारे नयाँ नेतृत्वका योजनालाई पनि चासोका साथ हेरिएको छ । अघिल्लो सरकारको सबैभन्दा ठूलो भूलका रूपमा परिभाषित गरेको लेबर पार्टीले आफँैले सरकार निर्माण गरिसकेपछि यसलाई सन्तुलनमा ल्याउन अपनाउने रणनीति कस्तो हुने भन्नेमा समेत सबैको 

चासो छ । अस्ट्रेलियामा आप्रवासी नीतिका लागि लिबरल गठबन्धन लचिलो मानिन्छ तर लेबर पार्टी भने यस मामिलामा कठोर देखिन्छ । कर्मचारी सङ्गठनको राम्रो प्रभाव रहेका कारण पनि लेबर पार्टीको आप्रवासन नीति लिबरलको तुलनामा कडा हुने कतिपयको विश्लेषण छ । एकल आमाको एक मात्र सन्तानका रूपमा अल्बानिज सिड्नीको श्रमिक बस्तीमा हुर्किनुभएको हो ।

तीन वर्ष वर्षअघि उहाँ लेबर पार्टीको नेतृत्वमा पुग्नुभयो र अहिले नयाँ प्रधानमन्त्री बन्नुभयो । निर्वाचनमा लेबर पार्टीको जितेसँगै नौ वर्षे कन्जरभेटिभ शासन अन्त्य भएको छ । वर्षौंपछि लेबर पार्टीले आमचुनावमा जित हासिल गरेको छ । कन्जरभेटिभ पार्टीको लामो शासनमा जमेको समाजमा परिवर्तन ल्याउने अल्बानिजको दाबी छ । 

अल्बानिज २६ वर्षअघि पहिलो पटक सांसद चुनिनु भयो । त्यसयता लेबर पार्टी जम्मा पाँच वर्ष मात्र सरकारमा रह्यो । त्यसमाथि केभिन रड र जुलिया गिलार्डको शासन त्यति स्थिर रहेन । अल्बानिज सन् २००७ मा केभिन रडको सरकारमा पहिलो पटक मन्त्री बन्नुभयो । सन् २०१९ को चुनावमा लेबर पार्टीको हारपछि उहाँ विपक्षी नेता बन्नुभयो । 

सन् १९६३ मार्च २ मा अविवाहित आमाबाट अल्बानिजको जन्म भएको थियो तर सन् २००२ मा उनकी आमाको निधनपछि उहाँले आफ्ना पिताको खोजी गर्नुभयो । सन् २००९ मा बाबु छोराको भेट भयो । उहाँका पिता दक्षिण इटालीको बारलेट्टास्थित पुख्र्यौली नगरमा बस्नुहुन्छ । १२ वर्षको उमेरमै अल्बानिजले आफ्नी आमा बसिरहेको सरकारी भवन क्षेत्र घरजग्गा व्यवसायीलाई बेच्न प्रयासविरुद्ध लड्नुभयो । परिवारमा विश्वविद्यालय अध्ययन गर्ने उहाँ पहिलो व्यक्ति हुनुभयो । उहाँले अर्थशास्त्र पढ्नुभयो । विश्वविद्यालयबाट नै उहाँको राजनीतिक यात्रा सुरु भयो । 

अहिले उहाँले जलवायु परिवर्तनलाई सम्बोधन गर्न सन् २०३० सम्म सन् २००५ कोभन्दा ४३ प्रतिशत कार्बन उत्सर्जन कम गर्ने वाचा गर्नुभएको छ । त्यसैगरी, उहाँको सरकार नवीकरणीय ऊर्जा निर्माण बढाउन चाहन्छ । चुनावी घोषणापत्रमा उहाँले विद्युतीय कारमा छुट प्रदान गर्ने र समुदायको स्वामित्वमा रहने सौर्य ऊर्जा तथा ब्याट्री परियोजना निर्माणमा सहयोग गर्ने बताउनुभएको छ । 

विदेश नीतिको सन्दर्भमा लेबर पार्टीले अमेरिकातर्फको झुकावलाई निरन्तरता दिनेछ । अल्बानिजले अस्ट्रेलियाको विदेश नीतिको ‘पहिलो खम्बा’ अमेरिकासँगको गठबन्धन हुने बताउनुभएको छ । उहाँ ओकसजस्तो दीर्घकालीन गठबन्धनलाई पनि समर्थन गर्नुहुन्छ । गतवर्ष बेलायत, अमेरिका र अस्ट्रेलियाबीच ओकस सम्झौता भएको थियो । त्यस सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियाको जलसेनाका लागि आणविक ऊर्जासम्पन्न पनडुब्बी बनाइदिँदैछ । 

अल्बानिजले प्रधानमन्त्रीको शपथ लिएलगत्तै क्वाडमा भाग लिन जापान जानुभयो । क्वाडमा जापान, अमेरिका, भारत र अस्ट्रेलिया सदस्य छन् । हिन्द प्रशान्त क्षेत्रमा स्थायित्व, शान्ति, विकास र सन्तुलन कायम गर्नुको क्वाडको प्रमुख उद्देश्य रहेको छ । यस क्षेत्रमा चीनको प्रभाव घटाउनु क्वाडको अर्को उद्देश्य हो । अल्बानिजले मारिसनको सरकारले सोलोमन टापुसँगको सम्बन्ध बिगारेको भन्दै आलोचना पनि गर्नुभएको छ । प्रशान्त महासागरको टापु मुलुक सोलोमनले हालै चीनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता अस्ट्रेलियाका लागि टाउको दुखाइ बनेको छ । 

अस्ट्रेलियाको महìवाकाङ्क्षी जलवायु नीतिले प्रशान्त टापु मुलुकसँगको सम्बन्ध सुध्रनेमा उहाँ आशावादी हुनुहुन्छ । प्रशान्त क्षेत्रका टापु मुलुक जलवायु परिवर्तनका कारण बढिरहेको समुद्र सतहको उच्च जोखिममा छन् । अल्बानिजको नेतृत्वको लेबर पार्टीले छिमेकी साना देशका सेनालाई प्रशिक्षित गराउन प्रशान्तीय प्रतिरक्षा विद्यालय बनाउने प्रस्ताव गरेको छ । अस्ट्रेलियाको मुखमै रहेको सोलोमन टापुमा आगामी दिन चिनियाँ सैन्य तैनाथ हुने सम्भावनाबीच उहाँले यस्तो प्रस्ताव ल्याउनु भएको हो । आफ्नो शासन कालमा इमानदारिता र जिम्मेवारी स्वीकार्ने क्रम बढ्नेमा उहाँको विश्वास छ ।

अस्ट्रेलिया विश्वको सानो महादेश हो भने विश्वकै ठूलो टापु राष्ट्र हो । ७७ लाख वर्ग किमीमा फैलिएको यो राष्ट्रको जनसङ्ख्या करिब साढे दुई करोड रहेको छ । अङ्ग्रेजी मुख्य भाषा, इसाई मुख्य धर्म मान्ने यो मुलुक आर्थिक हिसाबले सम्पन्न बन्दै गएको छ । स्वास्थ्य, शिक्षा तथा गुणस्तरीय सामाजिक जीवनका लागि आकर्षक बन्दै गएको अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री अल्बाजिनबाट शान्ति, सन्तुलन र स्थायित्वका लागि महìवपूर्ण काम हुने अपेक्षा गरिएको छ । 

Author

रामप्रसाद आचार्य