• १२ कात्तिक २०८२, बुधबार

पन्ध्र सय पर्यटकको उद्धार : हिडन भ्यालीमा १२ जनाको उद्धार हुँदै

blog

मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धारका लागि हिउँ पन्छाइँदै । रासस

काठमाडौँ,  कात्तिक १२ गते । मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ । 

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताउनुभयो  । 

उहाँले भन्नुभयो, “ पर्यटक (उनीहरू) को अवस्था सामान्य रहेको र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेकोे छ ।”

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएका थिए । 

यसैबिच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।   

सैनिक प्रवक्ता बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो । 

मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याएको थियो ।