• १२ कात्तिक २०८२, बुधबार

डेढ महिनापछि मकवानपुर जिल्ला अदालत सञ्चालनमा

blog

मकवानपुर जिल्ला अदालत ।

राममणि दाहाल

मकवानपुर, कात्तिक १२ गते । मकवानपुर जिल्ला अदालतले डेढ महिनापछि पूर्ववत् सेवा प्रवाह सुरु गरेको छ । अदालतबाट प्रवाह हुँदै आएका सेवाहरु गत भदौको २४ गतेबाट संकुचन गरिएकोमा पूर्ववत् सञ्चालनमा आएको हो । 

जेनजीको प्रदर्शनीका क्रममा अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि अदालतबाट प्रवाह भएका सेवाहरु संकुचन गरिएको थियो । जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार केशवराज कौशिकले अदालतका डाटाहरु सबै रिकभरभएको पूर्ववत् सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले यसअघि आंशिक रुपमा सेवा प्रवाह हुँदै आएकोमा अब मुद्दा व्यवस्थापन प्रणालीबाट पेशी प्रकाशन र सुनुवाइ हुने बताउनुभयो । 

यस अदालतबाट प्रवाह भएका सेवाहरु भदौ २४ गतेपछि संकुचन गरिएकोमा अब भदौ २४ गतेअघिकै अवस्था अदालतले सेवा प्रवाह गर्नसक्ने अवस्थामा पुगेको छ, उहाँले भन्नुभयो, बुधबार बसेको अदालतको पूर्ण बैठकको निर्णय अनुसार सूचना प्रविधि प्रणालीमा आबद्ध भई सबै प्रकारका मुद्दा तथा रिट निवेदनहरुको सुनुवाइ बिहीबारबाट नियमित रुपमा सुचारु हुनेछ । 

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३५ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ बमोजिम गुज्रिएको म्याद÷ तारेख तथा सो अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको भए असोज २२ गतेबाट बाटोको म्यादबाहेक ३० (तीस) दिनभित्र थाम्न थमाउन सकिनेछ र सो अवधिमा भदौ २३ देखि असोज २१ गतेसम्ममा गुज्रिएको तारेख, म्याद, हदम्याद नगुज्रने अदालतले जनाएको छ। 

यस्तै अभियोग पत्रसाथ पेश भएका एवं फरार भई पक्राउ प्रतिवादीहरुको बयान, थुनछेकसम्बन्धी कार्यहरु, फिराद दर्ता, प्रतिउत्तर दर्तासम्बन्धी कार्यहरु, बकपत्र म्बन्धी कार्यहरु, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ सम्बन्धी निवेदन, प्यारोल सम्बन्धी निवेदन दर्ता र सुनुवाइ सम्बन्धी कार्यहरु र पूरक निवेदन दर्ता तथा सो को सुनुवाइसम्बन्धी कार्यहरु गर्दै आएको अदालतले जनाएको छ ।

अदालतका अनुसार नियमित तारेखसम्बन्धी कार्यहरु, मुद्दा मिलापत्र, मुद्दा फिर्तासम्बन्धी कार्यहरु, तहसिल शाखाबाट सम्पादन हुने सबै कार्यहरु, अभिलेख शाखाबाट सम्पादन हुने सबै कार्यहरु, विशेष प्रकृतिको निवेदनहरु दर्ता तथा सोको सुनुवाइसम्बन्धी कार्यहरु र कसूर ठहर भई सजाय निर्धारण बाँकी रहेका मुद्दाहरुमा सजाय निर्धारणको सुनुवाइसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

निमित्त श्रेस्तेदार कौशिकले अदालतका अभिलेखहरु अब सूचना प्रविधि प्रणालीबाट हेर्न र सेवा प्रवाह गर्न सकिने बताउनुभयो । अदालतमा आगजनी र तोडफोड भएपछि गत असोज २९ गतेबाट आगजनी भएको भवनबाट जिल्ला अदालत र उच्च अदालत पाटन हेटौँडा इजलासले आंशिक रुपमा सेवा प्रवाह सुरु गरेको थियो । 

अदालतका फर्निचरलगायतका उपकरणहरु प्रदर्शनीका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि तत्काल काम चलाउका लागि जिल्लास्थित स्थानीय तहलगायतले फर्निचर र कम्प्युटरलगायतका उपकरण उपलब्ध गराएका थिए ।