• १२ कात्तिक २०८२, बुधबार

ठूलो एकादशीमा नवलपुरका तीर्थस्थलमा धार्मिक मेला

blog

ज्ञानु पंगेनी 

मध्यविन्दु, कात्तिक १२ गते । नेपालीहरुको चाड हरिबोधनी अर्थात् ठूलो एकादशीको अवसरमा नवलपुरका विभिन्न तीर्थस्थलहरू धार्मिक मेलाको आयोजना गरिएको छ । कात्तिक १५ गते परेको ठूलो एकादशीका लागि विभिन्न तीर्थस्थलमा मेलासँगै महोत्सव, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको हो । 

एकादशीमा नवलपुरको कावासोती १२ पिठौलीस्थित नारायणी नदीमा ठुलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखि नै यहाँ एकादशीमा स्नान गर्ने, तोरण टाङ्ने, भजन कीर्तन गर्नेहरूको घुँइचो लाग्ने गरेको जानकारहरू बताउँछन् । पिठौलीमा ठूलो एकादशीमा देशकै ठूलो धार्मिक मेला लाग्ने गरेको यहाँका अगुवाहरूको भनाइ छ । 

पछिल्लो समय यहाँ धार्मिक मेलासँगै व्यापारीका स्टल, सांस्कृतिक कार्यक्रम, डुङ्गा सयर जस्ता मनोरञ्जनका कार्यक्रम पनि हुन थालेको छ । यस वर्षको मेला कात्तिक १४ गतेबाट १६ गतेसम्म हुने, मेला व्यवस्थापन गर्दै आएको पिठौली चौर युवा समितिका अध्यक्ष सागर गुरुङले जानकारी दिनुभयो । यस वर्षको मुख्य आकर्षणका रुपमा तोरण टाङ्ने धार्मिक कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । बाजागाजासहित ६ हजारभन्दा धेरै भक्तजन  चोरमारा लगायतका क्षेत्रबाट कलश यात्रासहित पैदल हिँडेर  नारायणी नदीमा तोरण टाङ्ने, भजनकीर्तन गर्ने कार्यक्रम रहेको गुरुङले जानकारी दिनुभयो ।  

यस्तै, राष्ट्रिय गायक राजन गुरुङ, सागर बिसी, सरिता गुरुङलगायत स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने उहाँको भनाइ छ । कावासोती वडा १२ को संरक्षकत्व आयोजना हुने मेलाका लागि वडाले समन्वयकारी भूमिका निर्वाह गरेको वडा १२ का वडा अध्यक्ष ध्रुव खनाल (दीपेश)ले जानकारी दिनुभयो । एकादशीको अघिल्लो दिनबाट नै यहाँ भजन कीर्तनका कार्यक्रम आयोजना गरिने अध्यक्ष खनालले बताउनुभयो । यहाँ स्थान गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने क्रम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । 

एकादशीमा देशमै सबैभन्दा ठूलो जुवाको खाल जम्ने ठाउँ भनेर पनि चिनिने यस ठाउँमा पछिल्लो केही वर्ष यता भने प्रशासनले बन्देज लगाएपछि हटेको छ । 

यस्तै कावासोतीकै वडा १५ गुन्द्रही खोलामा पनि एकादशी मेलाको आयोजना गरिएको छ । यहाँ पनि ठूलो एकादशीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको अगुवाहरू बताउँछन् । गुन्द्रही मेला यहाँको थारु समुदायमा प्रचलित छ । नवलपुरको थारू समुदायको तीर्थस्थलका रुपमा पुर्खादेखि नै चलिआएको प्रेम शङ्कर मर्दनियाले बताउनुभयो । गुन्द्रही र बाणखोलाको सङ्गम स्थलमा थारू समुदायले धार्मिक विधि अनुसार पूजाअर्चना र धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् । यहाँ पनि दुईदिनसम्म लाग्ने मेलामा स्थानीय उत्पादन र थारू समुदायको चिच्चर घोगी, माछाका परिकारहरू प्रदर्शनी गरिन्छ । 

यसैगरी जिल्लाको देवचुली नगरपालिका एक केउरेनीस्थित नारायणी नदी किनारमा पनि मेलासँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यही कात्तिक १४ गतेदेखि नै यहाँ मेला सुरु हुँदैछ । मेलाको आकर्षणको रुपमा यस वर्ष सुरक्षित मनोरञ्जनात्मक खेल सामग्री–बाल उद्यान ,स्थानीय जातजातिका मौलिक सांस्कृतिक प्रस्तुति, जैविक पर्यटकीय प्रवर्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, प्रकृति संरक्षण र धार्मिक गन्तव्यको प्रचार प्रसार केन्द्रित सूचना सचेतना केन्द्र, जिप सफारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड  प्रस्तुति रहने जनाइएको छ ।

जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको डेढगाउँमा पर्ने बालीघाटनमा पनि एकादशीमा धार्मिक मेला हुँदै आएको छ । 

कालिगण्डकी नदी बेंसीमा रहेको पर्यटकीय तथा धार्मिक स्थल बालीघाटमा पनि परापूर्वकालदेखि नै एकादशीमा धार्मिक मेला आयोजना हुँदै आएको स्थानीय वीरबहादुर बिसीले बताउनुभयो । यहाँ नवलपुरको पहाडी क्षेत्र र तनहुँका बासिन्दा मेला भर्न आउँछन् ।

एकादशीको दिन यहाँ पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला, सखरखण्ड, तरुल, पिँडालु गेडागुडीलगायतका कृषि उत्पादनको खरीद विक्रीसमेत हुने गर्दछ भने तोरण टाङ्ने र भजन कीर्तन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।